फिल्मी फण्डा। कवि तथा निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको ब्लकबस्टर सिनेमा ‘जारी’को सिक्वल ‘जारी २’ले तीन पोस्टरसँगै आफ्नो रिलिज मिति सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरहरू अनुसार सिनेमा असोज ३ गते देशव्यापी प्रदर्शनमा आउनेछ।
आज सार्वजनिक तीन पोस्टरमध्ये पहिलो पोस्टरमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल लगायतका कलाकार देखिएका छन्। बाँकी दुई पोस्टरमा भने दयाहाङ र मिरुनालाई मात्र प्रस्तुत गरिएको छ।
एक पोस्टरमा दयाहाङलाई परम्परागत च्याब्रुङ बाजा बजाइरहेको अवस्थामा देखाइएको छ भने अर्कोमा मिरुना मगर लिम्बु पहिरनमा मुस्कुराइरहेकी छन्। तेस्रो पोस्टरमा उनीहरूलाई क्यामरातर्फ हाँस्दै पोज दिइरहेको देखिन्छ।
‘जारी २: सङ अफ च्याब्रुङ’ शिर्षक राखिएको यस सिक्वलले लिम्बु समुदाय र उनीहरूको सांस्कृतिक पहिचानलाई केन्द्रमा राखेर कथा पस्किने संकेत ती पोस्टरमार्फत गरिएको छ। विशेषगरी, लिम्बु समुदायको मौलिक बाजा च्याब्रुङ सिनेमाको कथासँग जोडिएको बुझ्न सकिन्छ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको यस सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन्। मुख्य कलाकारहरूमा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, विजय बरालका साथै ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ।
‘जारी’ २०८० सालको सुपरहिट सिनेमा थियो, जसले बक्स अफिसमा १७ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको थियो। त्यसैले यसको सिक्वल ‘जारी २’लाई पनि दर्शकमाझ अत्यधिक प्रतीक्षित सिनेमाको रूपमा हेरिएको छ। सिनेमाले अघिल्लो सफलताको निरन्तरता दिने अपेक्षा गरिएको छ।