शो समय नपाएपछि ‘रियाल रिङ्गेट’ को प्रदर्शन स्थगित

फिल्मी फण्डा। नेपाली फिल्म ‘रियाल रिङ्गेट’ को प्रदर्शन निर्माण पक्षले स्थगित गरेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मलाई पर्याप्त शो समय नपाएको भन्दै सोमबारदेखि देशभरका हलहरूबाट हटाउने निर्णय गरिएको हो।

 

निर्माण संस्था रेबेल फिल्म्स प्रा.लिले आइतबार एक विज्ञप्ति जारी गर्दै, दर्शकको सकारात्मक प्रतिक्रिया आए पनि अधिकांश हलले उपयुक्त शो समय नदिएको जनाउँदै फिल्मको प्रदर्शन रोकिएको जानकारी दिएको हो।

 

“बारम्बार अनुरोध गर्दा पनि बेवास्ता गरिएको कारण कठोर निर्णयमा पुग्न बाध्य भयौं,” विज्ञप्तिमा भनिएको छ। निर्माण पक्षले दर्शकसँग असुविधाप्रति क्षमा पनि मागेको छ।

 

विभोर पोखरेल निर्देशित फिल्मले वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक गएका नेपालीहरूको भोगाइ र संघर्षलाई प्रस्तुत गरेको छ।

 

फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर र विशाल थापाको अभिनय छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech