‘राम नाम सत्य’को शुभमुहुर्त, चैत्र २७ गतेदेखि प्रदर्शन

फिल्मी फण्डा। माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा बन्ने फिल्म ‘राम नाम सत्य’को हिजो (विहीबार) ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै शुभमुहुर्त गरिएको छ। केही दिनमै काठमाडौंमा छायांकन सुरु हुने फिल्मको केही भाग चितवनमा खिचिनेछ।

ram nam satya 1 poster (1).jpg

माइकल चन्दको निर्देशनमा तयार हुने यो फिल्मलाई नयाँ वर्षको छेको पारेर चैत्र २७ गतेदेखि देशव्यापी प्रदर्शनमा ल्याइने भएको छ। शुभमुहुर्तमै नायक विराज भट्टको ‘एङ्ग्री लुक’सहितको पोस्टर पनि सार्वजनिक गरिएको छ।

फिल्ममा विराज भट्टसँगै सुशिल श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको अभिनय रहनेछ। उपेन्द्र सुब्बा र स्वेता विमली निर्माता, किशोर भट्ट र डा. डीआर उपाध्याय कार्यकारी निर्माता हुन्।

निर्देशक चन्दले ‘राम नाम सत्य’लाई आफ्नो सपनाको फिल्म बताएका छन् भने नायक भट्ट र सुशिल श्रेष्ठले कथावस्तु उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech