फिल्मी फण्डा। लामो समयदेखि फिल्मबाट टाढा रहेकी चर्चित नायिका निरुता सिंह पुनः नेपाली चलचित्रमा फर्किएकी छिन्। सविर श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘३६ को आँकडा’ मा अभिनय गर्नका लागि उनी आइतबार राति मुम्बईबाट काठमाडौं आएकी हुन्।
त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै निरुताले आफू अत्यन्त उत्साहित रहेको बताइन्। उनले भनिन्, “अब म कहीँ जाँदिनँ, निरन्तर नेपाली फिल्ममै काम गर्छु। बिचमा कोरोना भएपछि फिल्ममा काम गर्न पाइनँ, तर अब भने म टाढा बस्दिनँ।”
उनले केही अफर आए पनि परिस्थिती नमिलेका कारण यतिबेला सम्म कुनै नयाँ परियोजनामा संलग्न हुन नसकेको प्रष्ट पारिन्।
निर्देशक श्रेष्ठले भने निरुताको भूमिकाबारे अहिले खुलाउन नमिल्ने बताए। उनले भने, “मैले सहायक निर्देशकका रूपमा निरुता दिदीसँग काम गरेको थिएँ, तर निर्देशक भएपछि पहिलो पटक सहकार्य गर्न पाउँदैछु। यो फिल्ममा दिदी नै चाहिने विशेष भूमिका छ, त्यसैले उहाँलाई हामीले अनुरोध गरेका हौं।”
फिल्ममा निरुतासँगै रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतका कलाकारको पनि अभिनय रहनेछ। ‘दुई पल’ पछि पहिलो पटक निरुता र रेखा एउटै पर्दामा देखिन लागेका हुन्।
निरुताले अन्तिम पटक चलचित्र ‘दाल भात तरकारी’ मा अभिनय गरेकी थिइन्। अब भने उनी ‘३६ को आँकडा’ मार्फत नयाँ यात्रामा अघि बढ्दैछिन्।