फिल्मी फण्डा। निर्देशक लक्ष्मण रिजालको निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘काजी’ को शुक्रबार राजधानीको दक्षिणकाली मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजासहित शुभमुहूर्त गरिएको छ। पूजापछि निर्माण टिम छायांकनका लागि स्याङ्जा प्रस्थान गरेको छ।
करिब आठ वर्षपछि निर्देशनमा फर्किएका निर्देशक रिजालले भदौ ८ गते आइतबारदेखि औपचारिक छायांकन सुरु हुने जानकारी दिए। उनले भने, “आफ्नो सोच र खोजीअनुसारको स्क्रिप्ट पाएकै कारण फेरि निर्देशनमा फर्किन उत्साहित छु।” यसअघि उनले कसम, धुँवा यो नशा, अलविदा, कायरा जस्ता फिल्महरू निर्देशन गरेका थिए भने डिसेम्बर फल्स र गणपति निर्माण गरेका थिए।
आर एण्ड आर प्रोडक्सनको व्यानरमा निर्माण हुने यो सामाजिक प्रेमकथा फिल्मलाई रामप्रसाद रिजालले निर्माण गर्दै छन्। निर्माण पक्षले स्याङ्जामा भव्य सेट निर्माणका लागि लाखौं खर्च गरिएको जनाएको छ। निर्माता रिजाल भन्छन्, “अघिल्ला काममा देखिएका कमजोरी सच्याएर ‘काजी’लाई अझ उत्कृष्ट बनाउने प्रयास गरेका छौँ।”
फिल्मको मुख्य भूमिकामा विपिन कार्की, केकी अधिकारी र गरिमा शर्मा रहनेछन्। अन्य कलाकारको नाम क्रमशः सार्वजनिक गरिनेछ। कथा तथा पटकथा प्रदीप भारद्धाज, छायांकन चिन्तनराज भण्डारी, र गीत-संगीत कालिप्रसाद बास्कोटाको रहनेछ।