‘कोशेढुंगा’मा झलकमानको धुन, ‘हे बरै’ सार्वजनिक

फिल्मी फण्डा। झलकमान गन्धर्वको अमर धुन फेरि एकपटक पर्दामा गुन्जिएको छ। निर्देशक सरोज पौडेलको नयाँ फिल्म ‘कोशेढुंगा’ को गीत ‘हे बरै’ सार्वजनिक भएको छ।

लोकधुनलाई पुनः स्वर दिँदै गायक आशिष अविरलले गाएको यस गीतमा परदेशिएको छोराको असहाय अवस्था र परिवारलाई अन्तिम बिदाइको मार्मिक दृश्य अंकित छ। नेपाली लोकसंगीतका लिजेन्ड झलकमानलाई समर्पण गर्दै यसलाई चलचित्रमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

भिडिओमा अभिनेता मुकुन भुसाललाई ‘पूर्ण बहादुरको सारङ्गी’का वीरे पात्रको गेटअपमा देखाइएको छ। सारङ्गी बजाउँदै गाडीमा यात्रा गर्ने क्रममा उनले गीतमार्फत सिर्जना गर्ने भावनात्मक माहोलले दृश्यलाई थप मार्मिक बनाएको छ। बालकलाकार अर्नव खड्का पनि गीतमा देखिएका छन्।

भदौ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाहलगायतका कलाकारको अभिनय छ। नरदेवी फिल्म्सले प्रस्तुत गरेको यस चलचित्रलाई नेपालसँगै ४२ भन्दा बढी मुलुकमा एकैपटक रिलिज गर्ने तयारी भएको छ।

निर्माता प्रेबिल कँडेल र किशोर अनुराग रहेका फिल्मको छायांकन बाबु श्रेष्ठले गरेका हुन्। संगीतमा आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको योगदान छ।

निर्माण टिमका अनुसार, पहिलो पटक नेपाली फिल्म यति धेरै मुलुकमा एकसाथ प्रदर्शन हुँदैछ, जसले ‘कोशेढुंगा’लाई अन्तर्राष्ट्रिय स्तरमा फरक उचाइ दिने अपेक्षा गरिएको छ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech