फिल्मी फण्डा। कुशल छायाँकार शैलेन्द्रध्वज कार्की अब निर्देशनमा हात हाल्ने भएका छन्। थुप्रै हिट र सुपरहिट चलचित्रलाई विशेष छायांकनकला मार्फत सफल बनाइसकेका कार्कीले आफ्नै डेब्यु निर्देशनमा पोखरेली मसिनो नामक चलचित्र निर्माण गर्न लागेका हुन्।
सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा विधिवत् पूजाआजासहित फिल्मको शुभमुहूर्त सम्पन्न गरिएको छ। बाबु–छोरीको सम्बन्ध र संघर्षमा आधारित सामाजिक कथामा बन्ने यस फिल्मलाई कार्की र उनकी अभिनेत्री पत्नी शान्ति गिरीले संयुक्त निर्देशन गर्नेछन् भने निर्माण कार्य कार्की स्वयंले गर्ने भएका छन्।
कार्कीले यसअघि चामलको लोकप्रिय प्रजाति मनसरा शीर्षकमा चलचित्र निर्माण गरिसकेका थिए। त्यसपछि पुनः चामलकै अर्को प्रजातिको नाममा पोखरेली मसिनो शीर्षकमा फिल्म बनाउन लागेका हुन्। यसमा शान्ति गिरीको लेखन तथा शैलेन्द्र–शान्तिको पटकथा रहनेछ।
शुभमुहूर्त कार्यक्रममा निर्माता/निर्देशक दिपेन्द्र गौचन, कलाकार टिका पहाडी, परिक्षा लिम्बु, अविरल प्रताप अधिकारी, उपेन्द्र सुब्बालगायतको सहभागिता थियो। मंगलबार टोली पोखरा प्रस्थान गर्ने र बुधबारदेखि छायांकन सुरु गर्ने तयारी गरिएको छ। करिब ३० दिनमा सम्पूर्ण छायांकन पूरा गर्ने कार्यतालिका तय गरिएको छ।
फिल्ममा टिका पहाडी, प्रवीण खतिवडा, परिक्षा लिम्बु, माओत्से गुरुङ, अनिल सुब्बा, अंकित खड्का, सजन थापा मगर, अभय बराल, अविरल प्रताप अधिकारी र हिउँवाला गौतमलगायतका कलाकारले अभिनय गर्नेछन्।
आगामी वर्षको बडादशैंलाई लक्षित गरी रिलिज गरिने यस चलचित्रमा श्रवण मुकारुङको गीत, कालीप्रसाद बास्कोटाको संगीत, शंकर मर्हजनको द्वन्द्व निर्देशन, कार्की स्वयंको डिओपी र निमेष श्रेष्ठको सम्पादन रहनेछ। करिब तीन करोड रुपियाँको लगानीमा फिल्म निर्माण हुने जनाइएको छ।