किरण नेपाली ‘महादशा’मार्फत निर्देशनमा डेब्यु गर्दै

फिल्मी फण्डा। निर्माता किरण नेपालीले निर्देशनमा डेब्यु गर्दै ‘महादशा’ नामक नेपाली फिल्म निर्माण हुने भएको छ। बुधबार राजधानीस्थित जमलको विश्वज्योती मलको राजा लाउन्जमा आयोजित कार्यक्रममा फिल्मको नाम घोषणा र प्रि–टिजर सार्वजनिक गरिएको हो।

लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्मको प्रि–टिजर बुढासुब्बाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। निर्देशक नेपाली यसअघि दर्जनौँ फिल्ममा निर्माताको रूपमा संलग्न भइसकेका छन्।

‘महादशा’को प्रि–टिजरमा मुख्य कलाकार प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङलाई परम्परागत भेषभूषामा प्रस्तुत गरिएको छ। निर्माण पक्षका अनुसार अन्य कलाकारबारे जानकारी पछि दिइनेछ।

मनिष गौतमले लेखेको फिल्ममा राजेन्द्र के. शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन्। सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्।

फिल्मले संस्कार, संस्कृति, अध्यात्मसँगै समाजमा विद्यमान रहस्यमय घटनाक्रम तथा मानिसको जीवनमा ग्रह–नक्षत्र र कर्मको प्रभावलाई कथावस्तुमा समेट्ने निर्माण पक्षले जनाएको छ। प्राेडक्सन म्यानेजर अनिश अधिकारी र समर चाैलागाई रहेको फिल्मको प्रदर्शन मिति भने छायांकन पूरा भएपछि मात्र घोषणा गरिनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech