सामाजिक कथामा आधारित ‘स्त्री’को शुभमुहूर्त सम्पन्न

फिल्मी फण्डा। ऋषि पंचमीको दिन विशेष साइतमा फिल्म *‘स्त्री’*को शुभमुहूर्त सम्पन्न गरिएको छ । राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा मंगलबार आयोजित कार्यक्रममा क्यामेरा पूजासहित शुभसाइत गरिएको हो ।

जीवन शाहीको लेखन तथा निर्देशनमा बन्ने यस फिल्मको छायाङ्कन भदौ १४ गतेदेखि सुरु हुने जनाइएको छ । निर्देशक शाहीका अनुसार काठमाडौं आसपासका स्थानमा ३५ दिनको छायाङ्कन सेड्युल तय गरिएको छ ।

मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समिर राई र डा. सुकदेव बिष्ट निर्मातामा रहेका छन् । पटकथा निर्देशक शाही र किशन अर्यालले तयार पारेका हुन् । छायाङ्कन निर्देशक रामशरण उप्रेती, संगीतकार बाबुल गिरी, प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेत, प्रोजेक्ट म्यानेजर सुबास काफ्ले, द्वन्द्व निर्देशक देव महर्जन, प्रमुख सह–निर्देशक चन्द्र भण्डारी र मेकअप आर्टिस्ट श्याम बराल रहेका छन् ।

सामाजिक कथामा आधारित यस फिल्ममा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहनेछ । बालकलाकारमा दिप्सन चिलवाल र दिपेन्द्र चिलवालको अभिनय रहनेछ ।

फिल्मको ड्रेस डिजाइन सुकनिता चौलागाईंले गर्नेछिन् । शुभमुहूर्त कार्यक्रममा गीतकार संघका अध्यक्ष बसन्त बित्यासी थापा र चलचित्र विकास बोर्डका प्रवक्ता सन्तोष बाबु लोहनीको विशेष उपस्थिति रहेको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech