सुरक्षा पन्तको ‘धागो’ कात्तिक २८ मा नेपाल–भारतमा एकसाथ रिलिज हुँदै

फिल्मी फण्डा। अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘धागो’ आगामी कात्तिक २८ गते नेपाल र भारतका सिनेमा हलमा एकसाथ प्रदर्शन हुने भएको छ। फिल्मले परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथा प्रस्तुत गर्ने निर्माण पक्षले बताएका छन्।

चलचित्र उदिप राणा थापाको निर्देशनमा बनेको यो फिल्म सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राख्छ। निर्देशक उदिप राणाले भने, “धागो मेरो माटो र मेरो मान्छेहरूको कथा हो। यसमार्फत समाजका अनगिन्ती धागोहरूलाई जोड्ने प्रयास गरेको छु।”

फिल्ममा सुरक्षा पन्तसँगै भारतको वेस्ट बङ्गालस्थित प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ ईस्ट भारत विजेता सुरभी थापा प्रमुख भूमिकामा छन्। अन्य कलाकारमा बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ र पप्पु विश्वकर्मा रहेका छन्। विशेष आकर्षणका रूपमा अभिनेत्री वर्षा राउतको केमियो भूमिका रहेको छ।

फिल्मको छायाङ्कन अनिकेर एम. घोघ, सम्पादन अखिलेश राय, कस्ट्युम डिजाइन बिनु प्रधान, भीएफएक्स अनुरूप केर्टकेट्टा, रङ्ग संयोजन अनिन्दिया एस. राय, साउन्ड डिजाइन अमित त्रिवेदी, कोरियोग्राफी कविराज गहतराज र बसन दर्जी, कन्सल्टेन्ट एडिटर कमलेश पराउ तथा ब्याकग्राउण्ड स्कोर निर्मल पन्याले गरेका छन्।

सङ्गीतकार तथा गीतकार पुष्पन प्रधान हुन् भने शीर्ष गीत मन्चारी र रजिन सान्संकरले कम्पोज गरेका छन्। गायनमा पुष्पन प्रधान, आकाङ्क्षा थापा, बाबुता मंगर, बिके परियार, उमेश छेत्री, जुनु गौतम र रजिन सान्संकर छन्।

फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको हो। नेपालमा वितरण आरआर फिल्म्सले गर्नेछ। फिल्मले सीमामा बाँधिएका नेपालीहरूको जीवन र भावनात्मक धागोलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech