‘आ बाट आमा’को शुभ मुहूर्त, फागुन १५ बाट देशभर प्रदर्शन हुँदै

फिल्मी फण्डा। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्र ‘आ बाट आमा’ को बिहीबार तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्त सम्पन्न भएको छ। करिब २०० जना बटुकहरूले हवनसहित पूजाआर्चना गरी चलचित्रको मुहूर्त गरेका थिए।


निर्देशक चन्द्र पन्तले चलचित्रको छायांकन करिब एक महिनाको तालिकामा चितवन, काठमाडौं र भारतको हैदरावादमा हुने जानकारी दिएका छन्। चलचित्रमा अभिनेता पल शाह, दक्षिण भारतीय कलाकार प्रदीप रावत, विपना थापा, सिम्रन पन्त र उषा उप्रेती मुख्य भूमिकामा देखिनेछन्। मुहूर्त कार्यक्रममा प्रदीप रावतसहित गजित बिष्ट र माओत्से गुरुङको उपस्थिति रहेको थियो।

निर्माण पक्षका अनुसार ‘आ बाट आमा’ ले आमा र सन्तानबीचको स्नेह र भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्नेछ। निर्माता कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने र प्रकाशजंग कुँवर, कार्यकारी निर्माता करण सिंह, छायांकन नवराज उप्रेती, संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतम, र सहायक निर्देशक कुलदीप शर्मा रहेका छन्।

चलचित्र २०८२ फागुन १५ बाट देशभर प्रदर्शनमा आउने योजना छ। विदेश प्रदर्शन अधिकार अष्ट्रेलिया र न्यूजिल्यान्डमा बिक्री भइसकेको छ। ती देशका लागि वितरण अधिकार हिमारु इन्टरटेन्मेन्टले खरिद गरेको छ भने नेपालमा आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech