‘रिमै’ गुरुङ समुदायको बलियो दस्तावेज हुने दयाहाङ राईको भनाइ

फिल्मी फण्डा। आगामी शुक्रबार भदौ २० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रिमै’ प्रचारप्रसारमा व्यस्त छ । यसै क्रममा निर्माण टिमले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अभिनेता दयाहाङ राईले ‘रिमै’ नेपाली फिल्म उद्योगका लागि एउटा दस्तावेजका रूपमा रहन सक्ने बताएका छन् ।

उनले गुरुङ समुदायको संस्कार–संस्कृति बुझ्न चाहनेका लागि फिल्म महत्वपूर्ण सन्दर्भ बन्ने बताए । “अहिले फिल्म बनेको छ र प्रदर्शनमा आउँदैछ, तर भोलिको पुस्ताले गुरुङ समुदाय अध्ययन गर्नुपर्‍यो भने यो फिल्म उपयोगी दस्तावेज हुनेछ,” दयाहाङले स्पष्ट पारे । फरक भूगोल र भाषिक भिन्नताका कारण गुरुङ समुदायलाई नजिकबाट बुझ्न ‘रिमै’ सशक्त माध्यम बन्न सक्ने उनको भनाइ थियो ।

फिल्मकी नायिका रिश्मा गुरुङले गुरुङ जातिमा छोरीलाई विशेष स्थान दिइएको र त्यसलाई फिल्ममा प्रस्ट देखाइएको उल्लेख गरिन् । “छोरा नभए पनि अन्तिम संस्कार गर्न सकिन्छ, तर छोरी नभएसम्म शव उठाउनै मिल्दैन । यसैले हाम्रो समुदायमा छोरीको महत्व विशेष छ,” उनले भनिन् ।

दयाहाङले पछिल्ला दिनमा विभिन्न जातीय र भूगोलका कथाहरू फिल्ममा आउन थालेको उल्लेख गर्दै यसले नेपाली फिल्मलाई अझ समृद्ध बनाउने विश्वास व्यक्त गरे । उनका अनुसार, गुरुङ भाषामा यसअघि फिल्म बने पनि नेपाली भाषामा मुख्यधारको फिल्मका रूपमा ‘रिमै’ पहिलो भएको छ ।

‘रिमै’ को अर्थ छोरी–चेली भए पनि गुरुङ समुदायमा यसलाई तरुनी भन्ने अर्थमा समेत प्रयोग गरिन्छ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा बनेको यस फिल्मको निर्देशन खिल बहादुर गुरुङले गरेका हुन् । पटकथा उपेन्द्र सुब्बाले लेखेका छन् भने छायांकन शैलेन्द्र ध्वज कार्कीले गरेका हुन् ।

फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । कार्यकारी निर्माता वीरबल घले हुन् भने टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता रहेका छन् । संगीतमा दीपक शर्मा र थानेश्वर गौतम, सम्पादनमा मित्र डि गुरुङ र मुख्य सहायक निर्देशकमा किरण चाम्लिङ राई रहेका छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech