फिल्मी फण्डा । जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा देशका विभिन्न सिनेमा हलमा तोडफोड र क्षति पुगेको छ । विशेषगरी भाटभटेनी भित्रै रहेका हलहरुमा बढी असर भएको देखिन्छ। विराटनगरस्थित भाटभटेनीमा रहेको क्युएफएक्स चेनको हलमा क्षति पुगेको छ भने भक्तपुरको भाटभटेनीमा रहेको क्युएफएक्सकै अर्को हलमा पनि क्षति भएको बताइएको छ ।
त्यसैगरी आईएनआई सिनेमाको चेनमा पर्ने लोत्से मलमा आंशिक तोडफोड र आगजनी भएको छ । आईएनआईकै अर्को चेन बानेश्वरको एनबी सेन्टरमा समेत बाहिरी भागमा क्षति पुगेको छ । यस्तै बालाजुस्थित अष्टनारायण हलमा पनि भवन बाहिर तोडफोड भएको छ । तर आईएनआईका हल र अष्टनारायण हलमा भवन बाहिर मात्र क्षति पुगेको र भित्र हल भने सुरक्षित रहेको जानकारी आएको छ ।
“बानेश्वरस्थित एनबी सेन्टर बाहिर केही तोडफोड भएको हो, तर माथि हलमा भने केही असर छैन। स्थिति सामान्य भयो भने हल खोल्न समस्या हुँदैन,” निर्माता तथा अभिनेता दीपकराज गिरीले बताए ।
क्युएफएक्सका अन्य भाटभटेनीमा रहेका हलहरुको क्षति विवरण भने अहिलेसम्म पूर्ण रूपमा आएको छैन । अन्य स्थानका हलहरुमा समेत तोडफोड भएको हुनसक्ने तर आधिकारिक जानकारी अझै संकलन भइरहेको नेपाल चलचित्र संघले जनाएको छ ।
यसैबीच हलमा भएको तोडफोड, आगजनी र क्षतिबारे छलफल गर्न आजै दिउँसो (भाद्र २८) हलवालाहरुको बैठक बोलाइएको छ । सो बैठकमा देशभरका हलहरुको स्थिति र क्षतिको विवरण संकलन गर्ने, ब्रिफिङ लिने र हल कहिलेबाट खोल्ने भन्नेबारे निर्णय हुने नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले फिल्मी फण्डालाई बताए ।
उनका अनुसार, “के कति हलमा क्षति भयो र कुन–कुन हलमा असर पर्यो भन्ने डाटा संकलनका लागि बैठक बोलाएका छौं।” उनले थपे, सरकारले निषेधाज्ञा र कफ्र्यु हटाएको खण्डमा सम्भवतः आउँदो सोमबारदेखि हल खोल्ने तयारी हुनसक्छ ।
सेप्टेम्बर ८ अर्थात भाद्र २३ गते सुरु भएको जेनजी पुस्ताको आन्दोलनले एउटा नयाँ राजनीतिक इतिहास रचेको छ । बहुदलीय व्यवस्थाबाट बनेको सरकार ढलेसँगै आन्दोलन पक्षले चाहेजस्तै अन्तरिम सरकार गठन भइसकेको छ । तर यससँगै ठूलो धनजनको क्षति पनि भएको छ। आन्दोलनका क्रममा ५१ जनाको मृत्यु भएको छ भने निजी तथा सरकारी संरचनाहरुमा ठूलो क्षति पुगेको छ ।
यसको असर उद्योग, पर्यटन, होटल, खेलकुददेखि चलचित्र क्षेत्रसम्म परेको छ । चलचित्र क्षेत्रमा आधा दर्जनभन्दा बढी चलचित्रको सुटिङ रोकिएको छ भने रिलिज मिति तय भएका फिल्महरु अन्योलमा परेका छन्। देशभरका हलहरु बन्द भएको छ ।