‘माइतीघर’को भिडियो प्रतियोगितामा बुटवलका दुई समूह विजेता

फिल्मी फण्डा। फूलपातीको दिनबाट रिलिजमा आएको फिल्म ‘माइतीघर’ले दर्शकहरुको राम्रो साथ पाइरहेको छ । रिलिजको पहिलो दिनबाट नै हलमा दर्शकको उच्च चापका साथ व्यापार गरिरहेको फिल्मले बलियो वर्ड अफ माउथ पनि पाएको छ।

यो फिल्मको निर्माण टिमले शिर्ष गीतमा भिडियो प्रतियोगीता समेत आयोजना गरेको थियो । ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा आयोजना गरिएको भिडियो प्रतियोगीताका विजेताको नाम घोषणा गरिएको छ ।

फिल्ममा नै विजेताको भिडियो समावेश गरिएको छ । यो गीतमा भिडियो तयार पारेका हजार भन्दा बढीबाट २ जनालाई विजेता घोषणा गरिएको हो । निर्णायक कोरियोग्राफर कविराज गहतराजले विजेता छनोट गरेका हुन् । जसमा, दुवै जना विजेता बुटवलका छन् ।

बुटवलका सुरज सिंजाली मगर र वुटवलको कालिकानगरमा रहेको नाश्री डान्स एकेडेमीका बालिकाहरुको समुहले भिडियो प्रतियोगीता जितेका छन् ।

दुई जना विजेताले समान अंक ल्याएका कारण दुवै जनालाई विजेता घोषणा गरिएको निर्माणपक्षले बताएको छ ।

विजेतालाई ५ लाख नगद पुरस्कार दिने घोषणा यसको निर्माणपक्षले गरेको थियो । निर्माता अधिकारीले भने–‘यसपटक सुरज सिंजाली र नाश्री डान्स एकेडेमीका बहिनीहरुको प्रतिस्पधाई निकै नै कडा भयो । यसैले, निर्णायक कविराज गहतराजले दुवैलाई विजेता घोषणा गर्नुभएको छ । अब, हामी दुवै समुहलाई जनही साढे २ लाख पुरस्कार दिनेछौं ।’

मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ । बलियो वर्ड अफ माउथका कारण फिल्मको व्यापार सुखद रुपमा अगाडि बढिरहेको छ । निर्माणपक्षले व्यापारिक आँकडा भने सार्वजनिक गरेको छैन । 


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech