भुवन केसी निर्देशित ‘बाटुलो जून’ को शुभसाइत, अनमोल केसी भिन्न अवतारमा देखिने

काठमाडौं । सनराइज पिक्चर्स प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्म ‘बाटुलो जून’ को पाटनस्थित बगलामुखी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै शुक्रवार शुभसाइत गरिएको छ ।

पछिल्लो फिल्म ‘ड्रिम्स’ रिलिजको झण्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो फिल्मबाट निर्देशनमा पुनरागमन गर्दैछन् ।

अनमोल केसी प्रमुख भूमिकामा रहने यो फिल्ममा उनलाई अभिनेत्रीद्वय प्रिन्सी खतिवडा र नेन्सी खड्का ले साथ दिनेछन् । भुवन केसी पनि प्रमुख अभिनयमा रहने ‘बाटुलो जून’ मा प्रकाश घिमिरे, रेअर राई, दिपक केसी लगायतका कलाकारको अभिनय रहनेछ ।

निर्देशक केसीले यो फिल्म ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा आधारित रहने बताए । निर्माता जीया केसी ले अनमोललाई हिजोको दिनमा देख्दै आएको भन्दा भिन्न लुक्स र अवतारमा दर्शकले देख्न पाउने बताइन् । उनले यो फिल्म नेपाली समाजको कथा बन्ने विश्वास व्यक्त गरिन् ।

अभिनेता अनमोल केसीले बुवा भुवन केसीले विगतमा निभाएका भूमिका र लुक्समै आज आफूलाई पाएको भन्दै बुवाकै विरासत धान्ने गरी यो फिल्ममा जोडिएको बताए ।

फिल्म निर्माणमा जीया केसीसँग पछिल्लो हिट फिल्म ‘जेरी अन टप’ की निर्मात्री भविष्य खड्का ले साझेदारी गरेकी छन् ।

पहिलो चरणमा ४५ दिनको छायांकन सेड्युलसहित फ्लोरमा निस्केको यो फिल्मलाई काठमाडौं, ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरा लगायतका स्थानमा छायांकन गरिनेछ ।

फिल्मको लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेल ले गरेका छन् । छायांकन राजेश श्रेष्ठ को रहनेछ भने कोरियोग्राफी रेनशा वान्तवा राई को रहनेछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech