फिल्मी फण्डा। माघ १ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरले पढाइमा कमजोर एक गाउँले युवक काठमाडौं आएर जीवन बदल्न गरेको कठिन संघर्षको कथा भन्छ। गाउँमा बसेर कल्पना गरेजस्तो काठमाडौं सहर नरहेको र यहाँको वास्तविकता कति निर्मम छ भन्ने कुरालाई ट्रेलरमा उतार्ने प्रयास गरिएको छ।
ट्रेलरमा घरमा पुलपुलिएर बसेको छोरो सहरमा आएर आफ्नै कमाइमा बाँच्नु पर्दाको सकस र फोहोर उठाएर भए पनि जिन्दगी बदल्छु भन्ने दृढता देखाइएको छ। गाउँबाट सहर छिर्दा देखेका सपनाहरू काठमाडौंको भिडमा कसरी चकनाचुर हुन्छन् भन्ने आम युवाको कथालाई यसले समेटेको छ। छोराको दयनीय अवस्था थाहा पाउँदा आमाले व्यक्त गर्ने भावुक क्षणले ट्रेलरलाई मर्मस्पर्शी बनाएको छ।
बल्छी धुर्बे फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यस फिल्मलाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले नै निर्देशन गरेका हुन्। फिल्ममा मरिचमान श्रेष्ठ, वर्षा सिवाकोटी, विनोद न्यौपाने र पदम तामाङ मुख्य भूमिकामा छन्।निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी र रमेश बुढाथोकी लगायतको अभिनय छ।
शिवराम श्रेष्ठको छायांकन रहेको फिल्मलाई विपीन मल्ल ले सम्पादन गरेका हुन्। योगेश काजी शाहको पार्श्व संगीत (बीजीएम) रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल हो।