काठमाडौं । नेपाली समाजको यथार्थ, राजनीतिक विकृति र अन्यायविरुद्ध उठ्ने जनआवाजलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘बिगुल’को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ।
रमेश कोइरालाको निर्देशनमा बनेको करिब तीन मिनेट लामो ट्रेलरमा राजनीतिक खिचातानी, सामाजिक अन्याय, पारिवारिक द्वन्द्व, पुस्तागत सोचको टकराव र राजनीतिक नेतृत्वले निमुखा जनतामाथि गर्दै आएको खेलबाड प्रस्तुत गरिएको छ। देश र जनतालाई पटक–पटक धोका दिँदै आएको नेतृत्वविरुद्ध आवाज उठाउने नयाँ पुस्ताको संघर्ष फिल्मको मुख्य विषय रहेको देखिन्छ।
आसन्न आम निर्वाचनको पृष्ठभूमिमा बनेको फिल्मले सही नेतृत्व छनोटतर्फ जनमानसलाई सचेत गराउने अपेक्षा गरिएको छ। ट्रेलरमा बेनीशा हमाल, नरेन खड्का र विनोद न्यौपानेले युवा पुस्ताको भावना प्रभावकारी रूपमा प्रस्तुत गरेका छन्।
दिनेश कोइरालाको कथा तथा निर्माण रहेको फिल्ममा कल्पना पौडेलको प्रस्तुति छ भने सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेका छन्। फिल्ममा सरोज खनाल, नीर शाह, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, शिशिर वाङ्गेल, जेएन घिमिरे, गीता अधिकारी र मानश्री शर्माको पनि अभिनय छ। रविन्द्र खड्का विशेष भूमिकामा देखिएका छन् भने मिरा पण्डितले यही फिल्मबाट नायिकाको रूपमा डेब्यु गरेकी छन्।
माघ ९ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्मको छायांकन शिव ढकालले गरेका हुन्। तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्मका गीतमा विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ।