‘रमिताको पिरती’ को नयाँ गीत सार्वजनिक: आनालाई फकाउँदै विनय

फिल्मी फण्डा । आगामी माघ २३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रमिताको पिरती’ को दोस्रो गीत सार्वजनिक गरिएको छ। बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक ‘जुनी भर’ बोलको रोमान्तिक गीतमा फिल्मका मुख्य कलाकार आना शर्मा र विनय श्रेष्ठको केमेस्ट्री देखिएको छ।

गीतको भिडियोमा विनयले आनालाई फकाउन गरिरहेको संघर्ष र उनीहरूबीचको प्रेमको सुरुआती झल्कोलाई प्रस्तुत गरिएको छ। महेश काफ्लेको शब्द, संगीत र स्वर रहेको यस गीतमा उनलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन्।


शिरो फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा संगीत पक्षलाई निकै महत्व दिइएको छ। फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेल जस्ता चल्तीका गायक तथा संगीतकारहरूको स्वर र संगीत सुन्न सकिनेछ।

 

सुदिप्ताको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले एक युवतीको प्रेम भावनालाई सुक्ष्म रूपमा प्रस्तुत गर्ने निर्माण पक्षको दाबी छ।

 आना र विनयका साथमा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी र थिन्ले लगायतको अभिनय छ।

 फिल्मका निर्माता सागर लम्साल हुन् भने आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माताका रूपमा छन्।

शिशिर बिशाङ्खेको छायांकन (डीओपी) रहेको फिल्मलाई सुनिल शिवभक्तिले सम्पादन गरेका हुन्। यो गीतको भिडियोमा भने कृतिका बरालको कोरियोग्राफी र झोलेइज्मको सम्पादन रहेको छ।

फिल्मले प्रेम र युवा पुस्ताको भावनालाई विशेष जोड दिएकाले माघको प्रदर्शनप्रति निर्माण टिम उत्साहित देखिएको छ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech