फिल्मी फण्डा । चलचित्र ‘मिरमिरे’को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माणपक्षले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक ट्रेलरले बुवा र छोरीबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ। श्रीमतीविहीन घर, आमा नभएका सन्तान र परिवारभित्र सिर्जिने रिक्ततालाई ट्रेलरमा देखाइएको छ। आमाले छोरीलाई छोडेर गएपछि छोरीले गरेको अभावको महसुस र छोराछोरीका लागि आमाको महत्वलाई ट्रेलरले उजागर गरेको छ।
त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपूतबीचको सम्बन्ध देखाइएको छ। आमाको अभाव महसुस गरिरहेकी छोरीलाई कसरी मातृत्व प्रदान गर्ने भन्ने बुवाको प्रयास ट्रेलरको मुख्य विषय बनेको छ।
नुमाले आफ्नी आमा वास्तविक नभएको थाहा पाएपछि देखाउने प्रतिक्रिया र सत्य पत्ता लगाउन गरेको संघर्ष पनि ट्रेलरमा समेटिएको छ। ट्रेलरमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु र शाइसा गौचनलगायत कलाकार देख्न सकिन्छ।
यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउनेछ। यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको पनि अभिनय रहेको छ।
चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन्। सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन्। कार्यकारी निर्माताको रूपमा आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेका छन्। चलचित्रको देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।