फिल्मी फण्डा। हामी तीन भाइ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्देशक मधुसुधन भट्टराई ले निर्देशन गरेको फिल्मको ट्रेलर सोमबार OSR Digital को युट्युब च्यानलमार्फत रिलिज गरिएको हो।
सार्वजनिक ट्रेलरमा एउटै गाउँमा बस्ने तीन दाजुभाइ—विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई—बीचको गहिरो सम्बन्ध देखाइएको छ। बुबाआमाले ‘कहिल्यै नछुट्नु’ भन्ने सन्देश दिएर बितेपछि उनीहरू सधैं मिलेर जीवन बिताइरहेका हुन्छन्।
खेतबारीदेखि दैनिक कामसम्म सँगै गर्ने दाजुभाइबीचको सम्बन्ध निकै मजबुत देखिन्छ। यहाँसम्म कि दाइले नपिटेको दिन किन नपिटेको भनेर गुनासो गर्ने स्तरसम्मको आत्मीयता ट्रेलरमा देख्न सकिन्छ।
तर, जब भाइहरू बिहे गर्छन्, त्यसपछि सम्बन्धमा बिस्तारै दरार आउन थाल्छ। अंश माग्ने विषय उठेपछि कहिल्यै नछुट्ने कसम खाएका दाजुभाइबीच चिसोपना बढ्दै जान्छ। यसै क्रममा ‘बुबा खोजेर ल्याऊ’ भन्ने संवादपछि नक्कली बुबाको भूमिकामा राजाराम पौडेल प्रवेश गर्ने प्रसंगले कथालाई थप रोचक बनाएको छ।
निर्देशक भट्टराईले कथामा समकालीन समाजमा बढ्दो जग्गा प्लटिङ र त्यसले ल्याएको पारिवारिक विवादको विषयलाई समेत समेटेका छन्। फिल्मले कमेडी शैलीमार्फत मार्मिक सामाजिक कथा प्रस्तुत गर्ने संकेत ट्रेलरले दिएको छ।फिल्ममा लक्ष्मी बर्देवा, जाहान्वी बस्नेत, आश्मा गिरी, रविन्द्र झा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
साजित महत प्रस्तुतकर्ता रहेको फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारी ले लेखेका हुन्। प्रसिद्धि सिने आर्ट्स प्रा.लि. को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन् भने कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन्।
फिल्मको छायांकन शिव ढकाल ले गरेका हुन् भने सम्पादन बनिश शाह को रहेको छ। संगीत साप शक्ति र बाबुल गिरी ले दिएका छन्। फिल्म ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।