फिल्मी फण्डा। नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) का प्रि–इभेन्टअन्तर्गतका सबै कार्यक्रम सम्पन्न भएका छन्। गैरीधारास्थित कान्तिपुर थिएटरमा शुक्रबार साँझ ‘सर्ट फिल्म साँझ’ आयोजना भएसँगै प्रि–इभेन्ट चरण पूरा भएको हो।
उक्त कार्यक्रममा विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सव तथा निफका अघिल्ला संस्करणमा पुरस्कृत सर्ट फिल्म ‘जुलुङ्गो’, ‘बेयर ट्री इन द मिस्ट’, ‘जुन्को’ र ‘चिसो घर’ प्रदर्शन गरिएको थियो। प्रदर्शनपछि दर्शकसँग अन्तरक्रिया पनि गरिएको थियो, जहाँ फिल्म मेकरहरूले प्रश्नहरूको जवाफ दिएका थिए।
यसअघि निफले ‘हर सिनेमा हर भ्वाइस’ र ‘द न्यू वेभ इन नेपाली सिनेमा’ शीर्षकमा अन्तर्क्रियात्मक कार्यक्रमहरू आयोजना गरेको थियो।
निफका अध्यक्ष केपी पाठकका अनुसार अब महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। उनले चैत १९ गतेबाट सुरु हुने महोत्सवका लागि अधिकांश तयारी पूरा भइसकेको जानकारी दिए।
यस संस्करणमा पाँच दिने एआई फिल्म वर्कसप पनि समावेश गरिएको छ। वर्कसपमा फिल्म निर्माणको प्रि–प्रोडक्सन, प्रोडक्सन र पोस्ट–प्रोडक्सन चरणमा एआईको प्रयोगबारे प्रशिक्षण दिइनेछ।
वर्कसपमा सहभागी हुन इच्छुकले चैत ११ (मार्च २५) सम्म आवेदन दिन सक्नेछन्। साथै, ‘निफ फिचर पिच’ कार्यक्रममार्फत सर्ट फिल्म बनाइसकेका लेखकहरूले आफ्नो फिचर फिल्मको कथा निर्मातासामु प्रस्तुत गर्ने अवसर पाउनेछन्।
आयोजकका अनुसार यस वर्षको निफमा ४० देशका ८८ फिल्म प्रदर्शन गरिनेछ भने १० वटा विभिन्न विषयमा अन्तर्क्रियात्मक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्। महोत्सवसम्बन्धी थप विवरण चाँडै आधिकारिक सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरिने जनाइएको छ।