फिल्मी फण्डा। गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘मालती मंगले’को दोस्रो गीत ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक गरिएको छ। फिल्म आगामी वैशाख २५ गते (मे ८)देखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
सार्वजनिक गीतमा मुख्य कलाकार विजय बराल र वर्षा राउतलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। भिडियोको मुख्य आकर्षण भने बलिउड फिल्म ‘मोहब्बते’मा शाहरुख खान र काजोलको शैलीमा उनीहरूले गरेको नृत्य हो।
निर्माता ढकालका अनुसार फिल्मको कथाअनुसार वर्षाको पात्रले विजयमा शाहरुखको झल्को देख्ने भएकाले गीतमा सोही शैली प्रस्तुत गरिएको हो।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको उक्त गीतमा रामकृष्ण ढकाल र ऋतिका श्रेष्ठको स्वर रहेको छ। गीतमा हर्क साउदको शब्द तथा एसडी योगीको संगीत रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका हुन्। गीतको छायांकन अर्जुन तिवारीले गरेका छन् भने कोरियोग्राफी रोशन बिकको रहेको छ।
यसअघि फिल्मको शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक भइसकेको छ। निर्माता ढकालका अनुसार फिल्म पूर्णतः नेपाली समाजको परिवेशमा आधारित साङ्गीतिक प्रेमकथा हो।
निर्देशक प्रकु पाण्डेयको डेब्यु निर्देशन रहेको फिल्मको कथा स्वयं पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार गरेका छन्।
फिल्ममा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलसहित नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम लगायत कलाकारको अभिनय रहेको छ।
फिल्मको छायांकन महेश पौडेल, सम्पादन रोमी मोजेज, रङ संयोजन कृष्ण भण्डारी तथा ध्वनि मिश्रण डिकेश खड्गीले गरेका छन्। फिल्मको डिजिटल अधिकार ओएसआरसँग रहेको छ भने वितरण आरआर फिल्म्सले गर्नेछ।
साङ्गीतिक पाटो र कथावस्तुका कारण फिल्मप्रति दर्शकको चासो बढ्दै गएको निर्माण पक्षले जनाएको छ।