सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै सीमित गर्ने निर्णयप्रति चलचित्र पत्रकार सङ्घको आपत्ति

फिल्मी फण्डा। सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रवाह गर्ने सरकारको निर्णयप्रति चलचित्र पत्रकार सङ्घ नेपालले आपत्ति जनाएको छ।

 


सङ्घले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयप्रति पूर्ण असहमति प्रकट गरेको हो।सङ्घका महासचिव रघुनाथ सापकोटाद्वारा जारी विज्ञप्तिमा सरकारको यो कदमले लोकतान्त्रिक मूल्य र मान्यताअनुसार नागरिकलाई सुसूचित गर्दै आएका निजी सञ्चारमाध्यममाथि प्रत्यक्ष प्रहार गरेको उल्लेख गरिएको छ।

665247985_26319919204332301_1200913786549741617_n_KkRwRplAPY.jpg


विज्ञप्तिमा खुला तथा प्रतिस्पर्धात्मक सूचना प्रणालीलाई निषेध गर्दै विज्ञापन क्षेत्रमा ‘सिन्डिकेट’ लाद्न खोजिएको आरोप लगाइएको छ। यसले निजी तथा सामुदायिक सञ्चारमाध्यमलाई धराशायी बनाउने सङ्घको ठहर छ।

 


त्यस्तै, विज्ञापन प्रवाहलाई सङ्कुचित बनाउँदा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने भन्दै लोकतन्त्रमा यस्तो प्रवृत्ति कदापि स्वीकार्य नहुने उल्लेख गरिएको छ।

 


चलचित्र पत्रकार सङ्घ नेपालले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य तथा नागरिक अधिकारको संरक्षणका लागि उक्त निर्णय तत्काल फिर्ता लिन वा सच्याउन सरकारसँग जोडदार माग गरेको छ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech