फिल्मी फण्डा । नेपाली समाजका सीमान्तकृत समुदायको यथार्थ कथामा आधारित वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’ ले अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरिरहँदा यसको आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ।
निर्देशक तथा निर्माता दिपेन्द्र केसीको निर्माण रहेको यस वृत्तचित्रले मकवानपुरको मनोहरीस्थित विकट चेपाङ बस्तीमा बसोबास गर्ने अपाङ्गता भएका सन्चलालको संघर्ष, आशा र जीवनप्रतिको अदम्य विश्वासलाई चित्रण गरेको छ। सार्वजनिक पोस्टरमा सन्चलाल र एक बालकको भावनात्मक दृश्यमार्फत कथाको गहिराइ प्रस्तुत गरिएको छ।
वृत्तचित्रले अष्ट्रेलियामा आयोजित ‘टाइटान इन्टरनेसनल फिल्म फेस्टिभल’मा उत्कृष्ट वृत्तचित्रका दुई अवार्ड जितिसकेको छ भने ‘बलिउड एन्ड हलिउड फिल्म फेस्टिभल अष्ट्रेलिया २०२६’का लागि आधिकारिक छनोटसमेत भएको छ।
दिपेन्द्र केसी र ईश्वर लुइँटेलको लेखन रहेको वृत्तचित्रमा अर्जुन सापकोटा र हिमाल शर्माको छायांकन तथा मदन घिमिरेको सम्पादन रहेको छ। ‘सन्चलालः सीड्स अफ होप’ले नेपाली ग्रामीण जीवनको मार्मिक यथार्थलाई विश्वसामु पुर्याउन सफल भएको निर्माण पक्षको विश्वास छ।