असार १५ देखि ‘पारस’को छायांकन सुरु हुँदै, निखिल–रमेश–निरुतासहितको कलाकार टिम तय

फिल्मी फण्डा । निर्देशक कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’को छायांकन असार १५ गतेदेखि सुरु हुने भएको छ। निर्माण टिमले छायांकनको मिति तय गर्दै बिहीबार कलाकारहरूको फेस टेस्ट सम्पन्न गरेको छ। बालाजुस्थित ल्याबमा कलाकारहरूको पात्रअनुसारको लुक्स परीक्षण गरिएको हो।

एक्सनप्रधान चलचित्र निर्देशनमा आफ्नो छुट्टै पहिचान बनाएकी निर्देशक चौलागाईँले चलचित्रको अधिकांश पूर्वतयारी सम्पन्न भइसकेकाले निर्धारित मितिदेखि छायांकन थाल्न लागिएको बताइन्। उनका अनुसार चलचित्रको छायांकन काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा गरिनेछ।

केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा निखिल उप्रेती, रमेश उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ, जसिता गुरुङ र पुस्कर गुरुङ अनुबन्धित भइसकेका छन्। अन्य कलाकारको छनोट प्रक्रिया भने जारी रहेको निर्माण पक्षले जनाएको छ।

चलचित्रको पटकथा भारतीय लेखक सचिन लादियाले लेखेका हुन्। छायांकन निर्देशक (डीओपी) को जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हाल्नेछन्। क्यामेरा टिममा मानकृष्ण महर्जन र शेखरबहादुर तामाङ रहनेछन्।

केही साताअघि चलचित्रको पहिलो गीत रेकर्ड गरिएको थियो। उक्त गीतमा ‘नेपाल आइडल सिजन–३’ की विजेता सज्जा चौलागाईँको स्वर रहेको छ भने शब्द तथा संगीत कोशिश क्षेत्रीले तयार गरेका छन्।

चलचित्रको प्रोडक्सन म्यानेजरमा रविन बखेल रहनेछन् भने द्वन्द्व निर्देशन शुक्रराज शाहले गर्नेछन्। सत्यम राणा र समीर मियाँले भीएफएक्सको जिम्मेवारी सम्हाल्नेछन्। सरोज बुढाथोकी मेकअप आर्टिस्टका रूपमा रहनेछन् भने कुलदीप शर्मा मुख्य सहायक निर्देशकको भूमिकामा रहनेछन्।

त्यसैगरी, नृत्य निर्देशन कविराज गहतराजले गर्नेछन्। चलचित्रमा रेनिस फागो कलरिस्ट, राकेश दाहाल पब्लिसिटी तथा पोस्टर डिजाइनर, कालाचरण पृष्ठभूमि संगीत (बीजीएम) संयोजक तथा गीता गुराया मिक्सिङ इन्जिनियरका रूपमा आबद्ध छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech