फिल्मी फण्डा । राष्ट्रिय चलचित्र पुरस्कार विजेता निर्देशक राजबहादुर सानेको आगामी सिनेमा ‘गंगा रानी’मा नवोदित कलाकार रोशन केसी मुख्य अभिनेताका रूपमा अनुबन्धित भएका छन्। करिब ५०० भन्दा बढी आवेदकमध्ये छनोट हुँदै उनले आफ्नो डेब्यु सिनेमामै मुख्य भूमिका हात पारेका हुन्।
यसअघि नै अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेकी छन्। ‘गंगा रानी’मा रोशन र वर्षाको जोडी पहिलोपटक ठूलो पर्दामा देखिनेछ।
केही म्युजिक भिडियोमार्फत अभिनय यात्रा सुरु गरेका रोशनले उत्कृष्ट कथा र अनुभवी टिमसँग काम गर्ने अवसर पाएकाले सिनेमामार्फत डेब्यु गर्न उत्साहित रहेको बताएका छन्।
निर्माण टिमले वर्षा सिवाकोटी अनुबन्धित भएसँगै ४ अभिनेता र ४ अभिनेत्रीका लागि अडिसन खुलाएको थियो। सोही अडिसनबाट रोशन मुख्य अभिनेताका रूपमा छनोट भएका हुन्। निर्देशक सानेका अनुसार अडिसनबाट प्राप्त फोटो तथा भिडियोको आधारमा थप ३ अभिनेता र ३ अभिनेत्री छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
आहा फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमाका निर्माता कमलप्रसाद शर्मा हुन्। साने स्वयंको लेखन तथा निर्देशन रहने सिनेमाको छायांकन आगामी भदौको दोस्रो सातादेखि सुरु गर्ने तयारी गरिएको छ।
निर्देशक सानेले यसअघि ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ जस्ता सिनेमा निर्देशन गरिसकेका छन्।
यसैबीच, आहा फिल्मस्को प्रस्तुतिमा निर्माण भएको तथा सानेकै निर्देशन रहेको सिनेमा ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।