६ वर्षपछि ठूलो पर्दामा दिल श्रेष्ठ, रेखा थापासँग दोस्रो सहकार्य

फिल्मी फण्डा । अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘माया भनेकै यस्तो होला’मा अभिनेता दिल श्रेष्ठ मुख्य भूमिकामा देखिँदैछन्। लामो अन्तरालपछि चलचित्रमा सक्रिय बनेका दिलले यसपटक आफूलाई अझ परिपक्व कलाकारका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको बताएका छन्।

यो दिलको तेस्रो कथानक चलचित्र हो। यसअघि उनले ‘पर्खि राख है’बाट अभिनय यात्रा सुरु गरेका थिए भने ‘हिरो रिटर्न्स’मा रेखा थापासँग सहकार्य गरेका थिए। अब ‘माया भनेकै यस्तो होला’मार्फत उनी रेखासँग दोस्रोपटक स्क्रिन साझेदारी गर्दैछन्।

बीचका केही वर्ष चलचित्रमा नदेखिए पनि आफू यस क्षेत्रबाट कहिल्यै टाढा नभएको दिल बताउँछन्। “चलचित्रमा काम गरौँ वा नगरौँ, यो क्षेत्र मेरो जीवनको हिस्सा हो। यसपटक अघिल्ला कामका कमजोरी सुधार्दै अझ जिम्मेवार भएर अभिनय गरेको छु,” उनले भने।

मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठलगायत अनुभवी कलाकारसँग काम गर्नु चुनौतीपूर्ण भए पनि त्यसलाई आफूले सिकाइ र अवसरका रूपमा लिएको दिलको भनाइ छ। विशेषगरी मदनकृष्ण श्रेष्ठ र रेखा थापाजस्ता स्थापित कलाकारसँग स्क्रिन सेयर गर्न पाउँदा आफू थप उत्साहित र जिम्मेवार बनेको उनले बताए।

हाल पोस्ट–प्रोडक्सनमा रहेको चलचित्र आगामी भदौ २६ गते तीजको अवसरमा देशभर प्रदर्शनमा आउनेछ। प्रेमकथामार्फत सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्ने चलचित्रमा दिल श्रेष्ठको अभिनयलाई लिएर पनि दर्शकमाझ उत्सुकता बढ्दो छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech