फिल्मी फण्डा। इन्फा इभेन्ट्स यूके तथा इन्फा इभेन्ट्स नेपालको संयुक्त आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड ‘इन्फा अवार्ड्स नेपाल–२०२६’ शनिबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। नेपाली फिल्म क्षेत्रका कलाकार, निर्देशक, निर्माता, संगीतकर्मी तथा प्राविधिकहरूको सहभागिता रहेको समारोहमा ‘ऊनको स्विटर’ले सर्वाधिक नौ विधामा अवार्ड जित्दै आफ्नो दबदबा कायम गरेको छ।
इन्फा इभेन्ट्स यूकेका अध्यक्ष उमेशराज मोक्तानलाई जुरी प्यानलका सदस्य हरिहर शर्मा, गौरी मल्ल, रमेश बुढाथोकी तथा करुण थापाले इन्फा अवार्ड्स–२०२६ को शिलबन्दी नतिजा हस्तान्तरण गरेपछि समारोह औपचारिक रूपमा अघि बढेको थियो। कार्यक्रममा नेपाली फिल्म क्षेत्रका अधिकांश लोकप्रिय कलाकार तथा चलचित्रकर्मीको उपस्थिति थियो।
राष्ट्रिय गानको सामूहिक प्रस्तुतिपछि दिवंगत अभिनेता सुनिल थापाप्रति समर्पित श्रव्य–दृश्य सामग्री प्रदर्शन गरिएको थियो। त्यसपछि सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिसहित अवार्ड वितरण समारोह अघि बढेको थियो।
अघिल्ला दुई संस्करण बेलायतमा आयोजना गरेको इन्फा अवार्ड्सको तेस्रो संस्करण यसपटक काठमाडौंमा आयोजना गरिएको हो। नवीन चौहान निर्देशित ‘ऊनको स्विटर’ले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट पार्श्व गायिका, उत्कृष्ट पार्श्व गायक, उत्कृष्ट गीतकार, उत्कृष्ट संगीतकार र उत्कृष्ट पटकथा गरी नौ विधामा अवार्ड जितेको हो।
‘ऊनको स्विटर’बाट नवीन चौहान उत्कृष्ट निर्देशक, मिरुना मगर उत्कृष्ट अभिनेत्री तथा विपिन कार्की उत्कृष्ट अभिनेता घोषित भए। ‘परान’बाट नीर शाह पनि उत्कृष्ट अभिनेता घोषित भए। उत्कृष्ट पार्श्व गायिकातर्फ ‘काफ्ले’ गीतका लागि झुमा लिम्बु, पार्श्व गायकतर्फ ‘फूलहरू’का लागि सुजन चापागाईं तथा गीतकारतर्फ हर्क साउद पुरस्कृत भए। पटकथातर्फ नवीन चौहान र सुरजले अवार्ड हात पारे।
‘जेरीः अन टप’ले उत्कृष्ट छायांकन, सम्पादन र सह–अभिनेत्री विधामा सफलता हासिल गर्यो। फिल्मबाट निमेष रेग्मी उत्कृष्ट छायांकार, निमेष श्रेष्ठ उत्कृष्ट सम्पादक तथा आँचल शर्मा उत्कृष्ट सह–अभिनेत्री घोषित भए।
त्यस्तै ‘द ब्लू लाइट’बाट मोहक श्रेष्ठले उत्कृष्ट पार्श्व संगीत तथा श्रृष्टि श्रेष्ठले उत्कृष्ट खलपात्रको अवार्ड जिते। ‘श्री बुकुरो’बाट लक्ष्मी गिरी उत्कृष्ट चरित्र अभिनेत्री र ‘हर्ष’बाट सन्तोष पन्त उत्कृष्ट चरित्र अभिनेता घोषित भए।
‘राम नाम सत्य’बाट श्री श्रेष्ठले उत्कृष्ट द्वन्द्व निर्देशक तथा ‘अभिमन्यू’बाट प्रकाश दाहालले उत्कृष्ट सह–अभिनेताको अवार्ड प्राप्त गरे। नव–अभिनेत्रीतर्फ ‘माइतीघर’बाट श्यामश्री शेर्पा र नव–अभिनेतातर्फ ‘झरीपछिको इन्द्रेणी’बाट विमोचन दवाडी पुरस्कृत भए। ‘मोहर’को ‘चाहिँदैन मोहर’ गीतबाट रामजी लामिछाने उत्कृष्ट नृत्य निर्देशक बने।
समारोहको विशेष आकर्षणका रूपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद राशिसहित लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, इन्फा इभेन्ट्स यूकेका बोर्ड निर्देशक टंक भट्टराईलगायतले श्रेष्ठलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गरेका थिए। उक्त अवार्ड ओमेगा इनकर्पोरेशन्सले प्रायोजन गरेको हो।
अभिनेत्री कविता नेपालले ‘पर्फमर अफ द इयर’ अवार्ड प्राप्त गरिन्। उषा उप्रेतीले ‘इन्करेजमेन्ट अवार्ड’ पाउँदा जस्सिता गुरुङ ‘जेरीः अन टप’बाट लोकप्रिय अभिनेत्री तथा पल शाह लोकप्रिय अभिनेता घोषित भए।
जुरी अवार्डतर्फ ‘सिटामोल’बाट सौगात मल्ललाई अभिनेता तथा ‘रमिताको पिरती’बाट सुदीप्ता अधिकारीलाई निर्देशकतर्फ सम्मान गरिएको थियो। ‘गुन्ह्यु चोलो’का लागि समुद्र भट्टलाई चलचित्रतर्फ जुरी अवार्ड प्रदान गरिएको थियो।
यसैगरी कान्स अवार्डमा उत्कृष्ट सफलता हासिल गरेको नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’लाई विशेष सम्मान गरिएको थियो।
सन्दीप क्षेत्री तथा ओशिन सिटौलाले सञ्चालन गरेको समारोहमा सांगीतिक प्रस्तुति, नृत्य तथा हास्यव्यङ्ग्यले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो। विशेषगरी प्रस्तोता सन्दीप क्षेत्रीले वरिष्ठ अभिनेता नीर शाहकै अगाडि उनकै भेषभूषामा प्रस्तुत गरेको प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो। ‘कमेडी दरबार’का कलाकारहरूको प्रस्तुतिले पनि दर्शकको ध्यान खिचेको थियो।
समारोहमा दीया मास्के, पल शाह, कविता नेपाल, उषा उप्रेती, तेरिया मगर, एलिशा शर्मा, समर्पणलगायतका कलाकारले विभिन्न प्रस्तुति दिएका थिए। संगीतकर्मी बाबुल गिरी तथा रिहानको सांगीतिक प्रस्तुतिले पनि समारोहलाई थप मनोरञ्जनात्मक बनाएको थियो।
इन्फा अवार्ड्सले नेपाली फिल्म क्षेत्रका कलाकार तथा प्राविधिकहरूको सिर्जनात्मक योगदानलाई सम्मान गर्दै नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान र बजार विस्तारमा समेत जोड दिँदै आएको आयोजकले जनाएको छ।
समारोहमा इन्फा इभेन्ट्स यूकेका बोर्ड निर्देशक आशिष पन्तले कार्यक्रम व्यवस्थापनदेखि स्क्रिप्ट लेखनसम्मको जिम्मेवारी सम्हालेका थिए। कार्यक्रमको अन्त्यमा बोर्ड निर्देशक पाल्देन लामाले समारोहमा उपस्थित सम्पूर्ण कलाकार, चलचित्रकर्मी तथा दर्शकलाई धन्यवाद ज्ञापन गरे।