आजबाट तीन फिल्म रिलिज, ‘पेन्सन पट्टा’ दोस्रो हप्तामा

फिल्मी फण्डा । शुक्रबारबाट नेपाली चलचित्र क्षेत्रमा तीन नयाँ फिल्म प्रदर्शनमा आएका छन् । ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगे दाउ २’, राजेन्द्र बस्नेत निर्देशित ‘कार्की साइँला’ र राजु अधिकारी निर्देशित ‘माया बस्छ कि के हो’ आजदेखि एकसाथ प्रदर्शनमा आएका हुन् । यससँगै गत साता रिलिज भएको माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ दोस्रो हप्तामा प्रवेश गरेको छ ।

शुक्रबारबाट प्रदर्शनमा आएका फिल्ममध्ये सर्वाधिक शो ‘झिंगे दाउ २’ले पाएको छ भने दोस्रो धेरै शो ‘पेन्सन पट्टा’ले पाएको छ । ‘झिंगे दाउ २’को ललितपुरस्थित लाबिम मलको क्यूएफएक्समा प्रिमियरसमेत आयोजना गरिएको थियो । प्रिमियरमा सहभागी फिल्मकर्मी, पत्रकार तथा विभिन्न क्षेत्रका दर्शकले फिल्मको कथावस्तु, मेकिङ, कलाकारको अभिनय तथा गीतसंगीतको प्रशंसा गरेका थिए ।

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्मित ‘झिंगे दाउ २’लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता तथा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता रहेका छन् । विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन र अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, सरोज खनाल, बसुन्धरा भुसाललगायत कलाकारको अभिनय छ । फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् ।

यस्तै, ‘कार्की साइँला’ भरियाको जीवनका उतारचढाव र आम नेपालीले भोग्दै आएको सामाजिक यथार्थमा आधारित फिल्म हो । राजेन्द्र बस्नेत निर्देशित फिल्ममा जितु नेपाल र प्रियना आचार्य मुख्य भूमिकामा छन् । सुशील पोखरेल, वीरेन्द्रसिंह कुशवाहा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दीप्सन लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।

कर्णबहादुर फिल्मस् प्रा.लिको ब्यानरमा निर्मित फिल्ममा बालकुमार राईको लगानी, कृष्ण भगत चाम्लिङको प्रस्तुति र अनन्त राईको कार्यकारी निर्माण रहेको छ । सबिन अधिकारी र शंकर धितालको लेखन तथा डम्बर राईको छायांकन रहेको फिल्मको छायांकन धनकुटा, सुनसरीको बराहक्षेत्र र चतरा लगायतका स्थानमा गरिएको हो । फिल्मको ‘लग्यौ परान’ गीतले पनि दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको निर्माण पक्षको भनाइ छ ।

उता, माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’ले पहिलो सातामै दर्शकको राम्रो साथ पाएपछि दोस्रो हप्तामा प्रवेश गरेको छ । लाहुरे जीवन, परिवार, सम्बन्ध, प्रेम, त्याग र मानवीय संवेदनालाई कथाको केन्द्रमा राखिएको फिल्मले विदेशमा रहेका नेपाली दर्शकसँग समेत भावनात्मक सम्बन्ध स्थापित गर्ने अपेक्षा गरिएको छ ।

माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्मित ‘पेन्सन पट्टा’का निर्माता मिन कोन्मे गुरुङ, भोजबहादुर गुरुङ, माया गुरुङ र सपना गुरुङ हुन् । कथा तथा निर्देशन माओत्से गुरुङकै रहेको फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पशुपति राई, स्वर्गीय सुनिल थापा, पुष्कर गुरुङ, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय छ ।

निर्देशक गुरुङका अनुसार ‘पेन्सन पट्टा’ केवल पेन्सनको कथा नभई पेन्सन पट्टालाई केन्द्रमा राखेर एक परिवारको विगत, सम्बन्ध, प्रेम, त्याग, पहिचान र सामाजिक संरचनाको कथा प्रस्तुत गर्ने प्रयास हो ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech