फिल्मी फण्डा । नेपाली फिल्म क्षेत्रमा आफ्नो पहिचान बनाउने लक्ष्यसहित अघि बढिरहेकी मानसी शर्मा फिल्म ‘कार्की साइला’मार्फत दर्शकमाझ आएकी छन् । असोज २ गतेदेखि प्रदर्शनमा आएको फिल्ममा उनी ‘कार्की साइली’को भूमिकामा प्रस्तुत भएकी हुन् ।
नेपाली रजतपटमा नयाँ अनुहारका रूपमा प्रवेश गरेकी मानसीका लागि ‘कार्की साइला’ उत्साहसँगै चुनौती पनि हो । जितु नेपाल, प्रियना आचार्यलगायत कलाकारसँग स्क्रिन सेयर गर्न पाउँदा उत्साहित रहेकी उनी यही फिल्ममार्फत आफ्नो अभिनय क्षमता दर्शकमाझ स्थापित गर्ने प्रयासमा छिन् ।
मानसीका लागि अभिनय भने नयाँ रोजाइ होइन । कक्षा १ मा अध्ययन गर्दा नै उनले ‘किताब’ नामक फिल्ममा अभिनय गरेकी थिइन् । त्यसपछि आफन्त तथा चिनेजानेकाले ‘हिरोइन’ भनेर जिस्क्याउन थालेपछि अभिनयप्रतिको उनको रुचि अझ बढ्दै गयो ।
‘कलाकार बन्छु’ भन्ने सोच भने करिब तीन वर्षअघि बलियो बनेको उनी बताउँछिन् । फिल्ममा काम गर्ने तयारीसँगै उनले डान्स र अभिनयका कक्षा लिनुका साथै आफ्नो शारीरिक फिटनेसमा समेत ध्यान दिइन् । तर, फिल्ममा काम गर्ने तयारीकै क्रममा आमाको निधन भएपछि उनले करिब एक वर्ष कामबाट टाढा रहनुपर्यो ।
पछि निर्देशक राजेन्द्र बस्नेतले ‘कार्की साइला’का लागि प्रस्ताव गरेपछि उनी पुनः अभिनय यात्रामा फर्किइन् ।
‘कार्की साइला’मा आफूले सक्दो मेहनत गरेको बताउँदै मानसी दर्शकको प्रतिक्रियाको पर्खाइमा छिन् । अभिनयलाई नै आफ्नो भविष्य बनाउन चाहने उनी आगामी दिनमा राम्रो काम गर्दै नेपाली फिल्म क्षेत्रमा स्थापित हुने लक्ष्यमा छिन् ।
‘कार्की साइला’मा मानसीसँगै जितु नेपाल, प्रियना आचार्य, सुशील पोखरेल, वीरेन्द्रसिंह कुशवाहालगायत कलाकारको अभिनय रहेको छ । फिल्मलाई राजेन्द्र बस्नेतले निर्देशन गरेका हुन् ।