फिल्मी फण्डा । झरना थापा निर्देशित सिनेमा ‘ए मेरो हजुर ५’को नियमित छायांकन आजदेखि पशुपतिबाट सुरु भएको छ । २५ दिनको सेड्युलसहित छायांकन थालिएको निर्देशक थापाले जानकारी दिइन् ।
यसअघि साउन २९ गते पाटनको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै निर्माण टिम बाजुराको बडीमालिका र खप्तड पुगेको थियो । त्यहाँ केही दृश्य छायांकन गरिएपछि नियमित छायांकन पशुपतिबाट सुरु गरिएको हो ।
सिनेमामा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा छन् । अनमोल र सुहानाको यो तेस्रो सहकार्य हो । यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ मा सँगै अभिनय गरेका थिए ।
सिनेमामा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको अभिनय रहनेछ । ‘ए मेरो हजुर’को पहिलो शृंखलामा अभिनय गरेकी झरना करिब २५ वर्षपछि पाँचौँ शृंखलामा पुनः अभिनय गर्दैछिन् ।
झरना थापा र सरिन पोखरेलको कथा, पटकथा तथा संवाद रहेको सिनेमा नेपाली नयाँ वर्ष २०८४ को अवसरमा प्रदर्शनमा आउनेछ । यसको वितरण काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् ।