फिल्म ‘जदौ’ प्रदर्शनको नजिकिँदै गर्दा यसको एक्सटेन्डेड ट्रेलरले दर्शकमाझ चासो बढाएको छ। सोमबार सार्वजनिक करिब साढे दुई मिनेट लामो ट्रेलरमा अन्तरजातीय प्रेम, पारिवारिक असहमति, सामाजिक विभेद र प्रेमका लागि पात्रहरूले गर्नुपर्ने संघर्षलाई केन्द्रमा राखिएको छ।
ट्रेलर सार्वजनिक भएपछि विशेषगरी यसमा रहेका संवादले सामाजिक सञ्जालमा चर्चा पाइरहेका छन्। मुकुन भुसाल र नीति शाहबीचको संवादबाटै फिल्मले उठाएको जातीय प्रश्नको संकेत मिल्छ।
‘म बमबहादुर, थर बर्देवा, गोत्र काश्यप... यहाँको नि?’ भन्ने मुकुनको प्रश्नमा नीतिले ‘लुगा सिलाउनलाई जात र थर पनि चाहिन्छ र..?’ भन्ने जवाफ दिन्छिन्। छोटो संवादमार्फत नै फिल्मले जातीय पहिचानका आधारमा हुने विभेदमाथि प्रश्न उठाएको छ।
त्यसैगरी, प्रभात पलले नीतिलाई ‘म बिना एक्लै बाँच्न सक्छौ?’ भनेर सोधेको प्रसंगपछि नीतिले परिवारसामु व्यक्त गरेको ‘बाँच्न सिक्नुपर्छ, जातको कारणले हाम्रो बिहे हुन सक्दैन रे..’ भन्ने पीडादायी संवादले प्रेम र सामाजिक संरचनाबीचको द्वन्द्वलाई उजागर गर्छ।
‘हो हो हो, म दमई हो..’ भन्ने प्रभातको संवादले पनि ट्रेलरमा जातीय विभेदको अर्को पाटो प्रस्तुत गरेको छ। संवादसँगै ट्रेलरमा देखाइएको पात्रहरूको भावनात्मक संघर्षले फिल्मको कथाप्रति दर्शकको उत्सुकता बढाएको छ।
अन्जन शर्मा र काजी लिम्बूको निर्देशनमा बनेको ‘जदौ’मा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभात पल ठकुरी, विनोद न्यौपाने र खड्गबहादुर पुनलगायत कलाकारको अभिनय छ। फिल्म यही शुक्रबार, ९ असोजदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ।
लेखकसमेत रहेका निर्देशक काजी लिम्बूले नेपाली समाजमा आफूले देखे–भोगेको जातीय विभेद र कुरीतिविरुद्ध फिल्ममार्फत आवाज उठाउने प्रयास गरेको बताएका छन्। निर्देशक अन्जन शर्माले भने ‘जदौ’लाई हेर्ने मात्र नभई महसुस र मनन गर्ने फिल्मका रूपमा प्रस्तुत गर्दै आएका छन्।
फिल्मको शीर्ष गीत ‘जदौ हजुर’ र रोमान्टिक गीत ‘तिमीसँग नबोली’ चर्चामा रहेका बेला ट्रेलरमा समावेश प्रिति कौरको शब्द रहेको ‘रागले पोल्यो जातको, चलेन पानी यी हातको..’ बोलको गीतले पनि दर्शकको ध्यान खिचेको छ। दर्शकले गीतको पूर्ण संस्करण सुन्न चाहेको प्रतिक्रिया दिएका छन्।
शान्ति पुडासैनी कार्यकारी निर्माता रहेको फिल्ममा सृजना शर्मा, मनिष शर्मा र डिल्लीराज पोखरेल निर्माता छन्। राजाराम सुवेदी, दीपक पोखरेल, नारायण शास्त्री र सुमीत्रा देवकोटा सहनिर्माता तथा बिमला भण्डारी कन्सेप्ट डिजाइनर हुन्। एनसिजिएनले फिल्म वितरण गर्दैछ।