नबिन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको नेपाली फिल्म **‘बाकस’**मा कलाकार भोलाराज सापकोटा र सुपला सापकोटा अनुबन्ध भएका छन्। उनीहरू अनुबन्ध भएसँगै फिल्म निर्माण टोली छायांकनमा जाने तयारीमा जुटेको छ।
निर्देशक पन्तका अनुसार फिल्मको छायांकन दसैंपछि सुरु हुनेछ। उनका अनुसार फिल्मका अधिकांश कलाकारको टुंगो लागिसकेको छ भने केही कलाकार तथा प्राविधिकको छनोट अन्तिम चरणमा पुगेको छ।
‘फिल्मका लागि कलाकारहरूको टिम करिब–करिब पुग्ने अवस्थामा छ। अझै केही कलाकार तथा प्राविधिकको छनोट अन्तिम टुंगो लगाउने काम भइरहेको छ। तर हामी सबै कुरा छिट्टै मिलाएर दसैंपछि सुटिङमा निस्किन्छौँ,’ पन्तले भने।
यसअघि ‘बाकस’मा बिपना थापा, वर्षा राउत र महेश त्रिपाठी अनुबन्ध भइसकेका छन्। भोलाराज सापकोटा र सुपला सापकोटाको प्रवेशसँगै फिल्मको कलाकार टोली थप विस्तार भएको छ।
सुजिता चौलागाईंले निर्माण गर्ने फिल्ममा छत्रबहादुर खड्का सह–निर्माता तथा धिरेन्द्र पन्त (धिरु भाइ) कार्यकारी निर्माता छन्।
फिल्ममा दीपक शर्मा र सनम पुरुष राईको संगीत रहनेछ। गीत तथा शब्द दीपक शर्मा र निर्देशक नबिन पन्तको रहने जनाइएको छ। मनि तामाङ मुख्य सहायक निर्देशक, किरण दाहाल द्वन्द्व निर्देशक तथा निर्मल न्यौपाने प्रोडक्सन म्यानेजरका रूपमा जोडिएका छन्।
‘बाकस’को प्रदर्शन मिति भने तय भइसकेको छैन। निर्माण पक्षले छायांकन सम्पन्न भएपछि प्रदर्शन मिति घोषणा गर्ने तयारी गरेको छ।

