फिल्मी फण्डा । दीपकराज गिरी र केकी अधिकारीको मुख्य भूमिका रहेको सिनेमा ‘छ माया छपक्कै २’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले युट्युबमार्फत सार्वजनिक गरेको गीतको भिडियोमा सिनेमाका अधिकांश कलाकारलाई रोमान्टिक तथा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ।
अभि सुनारको शब्द तथा संगीत रहेको गीतमा करण परियार, अभि सुनार, विशाल निरौला र रश्मी विश्वकर्माको स्वर रहेको छ। विशाल निरौलाले गीतको संगीत संयोजन गरेका हुन्।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार दीपकराज गिरी र केकी अधिकारीको रोमान्टिक प्रस्तुतिसँगै ‘बेबी सावर’ दृश्यलाई विशेष रूपमा प्रस्तुत गरिएको छ। भिडियोमा दीपक र केकीको जोडीलाई केन्द्रमा राखिएको छ भने अन्य कलाकारहरूको नृत्य र रमाइलो प्रस्तुतिले गीतलाई मनोरञ्जनात्मक बनाएको छ।
गीतको भिडियोको अन्त्यतिर भने कथामा नयाँ ट्विस्टको संकेत गरिएको छ। दीपककी अर्की प्रेमिका अर्थात् सनिशा भट्टराई पनि गर्भवती भएको देखाइएको छ। यसले ‘छ माया छपक्कै २’ मा प्रेम, सम्बन्ध र त्यसबाट उत्पन्न हुने परिस्थितिलाई हास्य तथा मनोरञ्जनको शैलीमा प्रस्तुत गरिएको संकेत गर्छ।
सिनेमामा दीपकराज गिरी राजाको भूमिकामा देखिँदैछन्। उनको जोडीका रूपमा केकी अधिकारीलाई प्रस्तुत गरिएको छ। साथै दीपाश्री निरौला, सनिशा भट्टराई, प्रकाश घिमिरे, रमा थपलिया, निर्मल शर्मा, मेक्सम गौडेल, नवीन लम्साल, विष्णु सापकोटा, रवीन्द्र झा, कर्मा शाक्य, रिहान गिरी, शारदा गिरी, सन्तोष पौडेल, पार्वती अधिकारी, राधा लम्साललगायत कलाकारको अभिनय रहेको छ।
दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको सिनेमाको कथा तथा पटकथा दीपकराज गिरीले लेखेका हुन्। दीपाश्री निरौला कलाकार तथा सल्लाहकारका रूपमा जोडिएकी छन्। रोहित अधिकारी निर्माता रहेको सिनेमामा निर्मल शर्मा र सुरज बम ठकुरी कार्यकारी निर्माता छन्।
सिनेमाको छायांकन सुशान प्रजापति, आलोक शुक्ला र विशाल प्रजापतिले गरेका हुन्। विपीन मल्लले सम्पादन गरेको सिनेमामा किरण थापाको नृत्य निर्देशन र तुजिल कर्माचार्यको संगीत रहेको छ।
शीर्ष गीतको भिडियो सार्वजनिक भएसँगै निर्माण टिमले सिनेमाको कथासँग जोडिएका पात्र र सम्बन्धलाई गीतमार्फत समेत झल्काउने प्रयास गरेको देखिन्छ। विशेषगरी दीपक–केकीको बेबी सावर र त्यसपछि सनिशाको गर्भावस्थाको दृश्यले सिनेमामा प्रेम र सम्बन्धको कथा कुन मोडमा पुग्छ भन्ने उत्सुकता थपेको छ।
‘छ माया छपक्कै २’ फूलपातीको दिन असोज ३१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।