निखिल उप्रेतीको होम प्रोडक्सनमा बनेको बहुप्रतीक्षित फिल्म ‘आचार्य’ले सेन्सर पास भएसँगै प्रदर्शनका लागि सर्वाधिक शो पाएको छ । असोज ९ गते अर्थात् शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्मको बुकिङ बिहीबार बिहानदेखि खुला गरिएको हो ।
मंगलबारदेखि नै बुकिङ खुलाउने तयारी भए पनि सेन्सर प्रक्रिया ढिला भएपछि ‘आचार्य’को बुकिङ केही समय पछाडि सरेको थियो । फिल्मको सेन्सर प्रक्रियाकै कारण शुक्रबारदेखि प्रदर्शनमा आउने अन्य नेपाली तथा विदेशी फिल्मको शोसमेत हलहरूले पूर्ण रूपमा सार्वजनिक गर्न सकेका थिएनन् ।
बुधबार राति सेन्सर पास भएपछि बिहीबार बिहानैदेखि हलहरूले ‘आचार्य’का शो सार्वजनिक गर्दै बुकिङ खुलाएका हुन् ।
शुक्रबार नेपालका हलमा यसअघि प्रदर्शनमा रहेका तथा शुक्रबारदेखि नयाँ प्रदर्शनमा आउने नेपाली र विदेशी गरी १२ फिल्म छन् । ती फिल्मका लागि छुट्याइएको कुल शोमध्ये ५० प्रतिशतभन्दा बढी शो ‘आचार्य’ले पाएको बताइएको छ ।
सर्वाधिक शो पाउनुका साथै ट्रेलरले पाएको चर्चाका कारण हल सञ्चालकहरूले फिल्मप्रति अपेक्षा राखेको देखिन्छ । ट्रेलर सार्वजनिक भएदेखि नै चर्चामा रहेको ‘आचार्य’ नेपालमा ट्रेन्डिङको शीर्ष स्थानमा समेत पुगेको थियो ।
निखिल उप्रेतीको एक्सन अवतार, फिल्मको प्रस्तुति तथा प्राविधिक पक्षलाई लिएर सामाजिक सञ्जालमा दर्शकको चासो देखिएको छ । बुकिङ खुला भएसँगै अब फिल्मले हलमा कस्तो सुरुवात गर्छ भन्ने चासो बढेको छ ।
निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको फिल्मको निर्देशन पनि निखिल उप्रेतीकै हो । ‘आचार्य’ असोज ९ गतेदेखि नेपालसहित विदेशका हलमा समेत प्रदर्शनमा आउनेछ ।