काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोड भ्युज पार गरेको छ। षट्कोण आर्ट्सको आधिकारिक युट्युब च्यानलमा १३ मार्च २०२६ मा सार्वजनिक गीतले करिब सात महिनामै यो उपलब्धि हासिल गरेको हो।
गीतले पाँच करोड भ्युज पार गरेपछि अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन्। उनले गीतकै माध्यमबाट आफ्ना फिल्म नपुगेका ठाउँमा समेत आफू पुग्न सकेको उल्लेख गर्दै आफ्नो करियरमा गीतहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएकी छन्।
खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको गीतमा रमेश बीजीको शब्द र खेम सेन्चुरीकै संगीत छ। प्रदीप लामाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा स्वस्तिमा खड्का र समाइरा थापालगायत कलाकार देखिएका छन्। गीत युट्युबसँगै टिकटक र इन्स्टाग्राम रिल्समा पनि लोकप्रिय छ।
यम थापाको कथा तथा निर्देशनमा बनेको ‘लालीबजार’ गत वैशाख २५ गते नेपालमा प्रदर्शन भएको थियो। ५१ दिन मनाउन सफल फिल्म दसैँको अवसरमा ओटीटी प्लेटफर्म डिगोमा सार्वजनिक गरिएको छ। आमा–छोरीको सम्बन्ध र शिक्षाको महत्त्व प्रस्तुत गर्ने फिल्मले डायस्पोराका नेपाली दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।
फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ र अभय बराललगायत कलाकारको अभिनय छ। फिल्मको पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्।