कुमार गजुरेल निर्देशित फिल्म ‘सारथी’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बानेश्वरस्थित एनबी सेन्टरमा कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो।
म्याग्दीको दुर्गम गुर्जा गाउँको ग्रामीण परिवेश र जीवनशैलीमा आधारित ट्रेलरले आमा र छोराबीचको मर्मस्पर्शी सम्बन्ध तथा संघर्षलाई मुख्य विषय बनाएको छ। जीवनका हरेक उतारचढावमा छोराको सारथी बनेकी आमाको भूमिकामा निरुता सिंह र छोराको भूमिकामा गिरी विश्वकर्माको दमदार तथा भावुक अभिनय देख्न सकिन्छ।
लामो समयपछि पर्दामा फर्किएका अभिनेता उत्तम प्रधान र नवअभिनेत्री गायत्री जोशीका भूमिकालाई ट्रेलरमा रहस्यमयी ढंगले प्रस्तुत गरिएको छ। ट्रेलरको सुरुवातमै फिल्मको शीर्षकको अर्थ खुलाउँदै कलाकारहरूको परिचय गराइएको छ। ग्रामीण परिवेशमा देखिएका कलाकारहरूको अभिनय स्वाभाविक र जीवन्त देखिन्छ।
निरुता सिंहको ‘एउटा हात तिम्रो अघि सारथी बनेर रहिरहनेछ’ भन्ने भावनात्मक संवाद ट्रेलरको मुख्य आकर्षण बनेको छ। सम्बन्ध, साथ र मानवीय संवेदनाको गहिरो भाव बोकेको यस संवादले फिल्मको शीर्षकलाई समेत अर्थपूर्ण बनाएको छ। निरुताको भावपूर्ण कवितावाचनले ट्रेलरलाई थप विशेष बनाएको छ।
निर्देशक गजुरेलकै कथा, पटकथा तथा संवाद रहेको फिल्म मंसिर ११ गतेदेखि हलमा प्रदर्शन हुँदैछ।
फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीलगायत कलाकारको अभिनय छ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो। फिल्मका छायाँकार संकल्प भुजेल हुन्।
तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन्। बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर छन्।
फिल्ममा बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत, राजु खतिवडाको मुख्य सहायक निर्देशन तथा यमुना आचार्य र आशिष श्रेष्ठको सहायक निर्देशन रहेको छ। फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।