एउटै मञ्चमा छमछम नाचे दुई देशका कलाकार

फिल्मी फण्डा । भारतीय राजदूतावास र सांस्कृतिक संस्थानद्वारा संयुक्त रूपमा आयोजित मासिक धारावाहिक कार्यक्रम ‘नेपालभारत संगीत साधना’को दोस्रो संस्करण शुक्रबार साँझ सांस्कृतिक संस्थानमा भव्य रूपमा आयोजना गरिएको छ । कार्यक्रममा नेपाल र भारतका कलाकारले भरतनाट्यम एवं कत्थक नृत्य प्रस्तुत गरे । भारत स्वतन्त्रताको अमृत वर्ष एवं सांस्कृतिक संस्थान स्थापनाको स्वर्ण महोत्सवको अवसरमा सुरु गरिएको मासिक धारावाहिक कार्यक्रमको यो दोस्रो शृंखला हो ।

NE-VA-2-3.jpg

स्वामी विवेकानन्द कल्चरल सेन्टर (भारतीय राजदूतावास)का कलाकारले प्रस्तुत गरेको गणेश बन्दना (भरतनाट्यम) नृत्यबाट सुरु भएको कार्यक्रममा सांस्कृतिक संस्थानका कलाकारले पञ्चतारा, कृष्णलीला, तरनाजस्ता शास्त्रीय नृत्य प्रस्तुत गरी उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाए । सो अवसरमा भारतकी चर्चित नृत्यांगाना डा. गोथामीले भरतनाट्यम प्रस्तुत गरी उपस्थित दर्शकलाई आकर्षित गरिन् । नेपाल र भारतका कलाकारबीच भरतनाट्यम र कत्थकमा प्रस्तुत गरिएको जुगलबन्दी झनै रोमाञ्चक थियो ।

कार्यक्रममा उपस्थित पाहुनालाई स्वागत गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले नेपाल र भारतको मौलिक कला तथा संस्कृति एकआपसमा साटासाट गर्न, दुवै देशको लोकसंस्कृति जनस्तरमा स्थापित गर्न भारतीय राजदूतावास काठमाडौं र सांस्कृतिक संस्थानले मासिक धारावाहिक कार्यक्रम सुरु गरेको बताए । ‘कार्यक्रममा गीत, संगीत, वाद्यवादन, नृत्य, योग, चलचित्रलगायत प्रस्तुतिजन्य कलाका सबै विधाहरू प्रस्तुत गरिनेछ’, महाप्रबन्धक राईले भने ।


सो अवसरमा स्वामी विवेकानन्द कल्चरल सेन्टर (भारतीय राजदूतावास) काठमाडौंकी निर्देशक डा. आसावरी उदयवापतले सांस्कृतिक संस्थानसँगको सहकार्यमा सुरु भएको मासिक धारावाहिक कार्यक्रम महत्वपूर्ण भएको बताइन् । ‘यस कार्यक्रमले दुई देशबीचको सांस्कृतिक एवं मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पु¥याउने विश्वास लिएको छु’, डा. वापतले भनिन् ।

गत महिनाबाट सुरुभएको यस शृंखलाको पहिलो भागमा नेपाल तथा भारतका गायकगायिकाले यमन रागमा आधारित विभिन्न नेपाली तथा हिन्दी गीतहरू प्रस्तुत गरेका थिए । करुण वंशल, सहिलकुमार, डा. आशावरी वापतलगायत भारतीय राजदूतावास काठमाडौंका उच्च अधिकारीहरूको उपस्थितिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विशेष समारोहका बीच ‘नेपाल भारत संगीत साधना’को उद्घाटन गरेका थिए ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech