फिल्मी फण्डा । बलिउड क्वीन कंगना रनौत यतिबेला सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)बाट लोकसभाको चुनाव लडिरहेकी छन् । उनलाई हिमाञ्चलको मन्डी निर्वाचन क्षेत्रबाट टिकट मिलेको छ ।
आफूले जित्ने आशा उनको छ । सामाजिक सञ्जालका फोटो र भिडियो हेर्दा उनको चुनावी व्यस्तता तीव्र देखिन्छ । यही मेसोमा उनले आफ्नो फिल्मी करिअरलाई लिएर केही अर्थपूर्ण अभिव्यक्ति दिएकी छिन् ।
आफूले लोकसभाको चुनाव जिते फिल्म करिअरको अन्त्य गर्नेतर्फ उनको इशारा छ । किनभने उनी एउटै क्षेत्रमा केन्द्रित हुन चाहिन्छन् । तपाईं फिल्म वा राजनीति कुन क्षेत्रमा बढी केन्द्रित हुन चाहनुहुन्छ भनेर प्रश्न सोधिएको थियो ।
यसबारे कंगनाले भनिन्, ‘मैले फिल्ममा अभिनय र निर्देशन दुवै गर्छु । यदि मैले राजनीतिमै सम्भावना देखें भने र मानिस मसँग जोडिए भने अवश्य पनि राजनीति नै गर्छु । निश्चय नै म एउटा काममा फोकस हुन चाहन्छु ।’