‘जलाकी’को अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री

‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगरको दोस्रो सिनेमा ‘जलाकी’को अमेरिका र क्यानडाका लागि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ। निर्देशक मगरका अनुसार पिएनएम एलएलसीले दुवै देशको प्रदर्शन अधिकार खरिद गरेको हो। प्रदर्शन मिति भने वितरक र निर्माताबीचको छलफलपछि तय गरिनेछ।

सिनेमाका ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीतसँगै टिजर सार्वजनिक भइसकेका छन्। सार्वजनिक सामग्रीले दर्शकमाझ चर्चा बटुलिरहेका छन्। विशेषगरी ‘चाँदी जलप’ बोलको गीतमा १० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन्। अन्य दुई गीत पनि रिल्स र सर्ट्समा रुचाइएका छन्। गीत तथा टिजरले सिनेमाप्रति दर्शकको उत्सुकता बढाएको निर्माण पक्षको विश्वास छ।

आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने ‘जलाकी’ मगर र गुरुङ समुदायको आस्था, संस्कृति, परम्परा र भावनामा केन्द्रित छ। निर्देशक मगरका अनुसार ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनेको स्तम्भलाई जनाउने शब्द हो। यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर सिनेमामा मगर र गुरुङ समुदायको जीवनशैली तथा भावनालाई प्रस्तुत गरिएको उनले बताएका छन्।

सिनेमामा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिनलगायतको अभिनय छ। क्याप्टेन विजय लामा विशेष भूमिकामा देखिनेछन्। बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनहा मगर छन्। यसै सिनेमाबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली फिल्ममा डेब्यु गरेकी छन्।

एम मिडिया प्रोडक्सनको ब्यानरमा बनेको सिनेमाका निर्माता ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन्।

‘जलाकी’लाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछन्।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech