‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक

फिल्मी फण्डा । हरर कमेडी जनरा फिल्म ‘फिरफिरे फिरिरी’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको फिल्म ‘फिरफिरे फिरिरी’ मनोज कुमार अधिकारीले निर्माण गरेका हुन्। अधिकारीले यस अघि फिल्म ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माण गरेका  थिए । पछिल्लो समय संसारभर हरर कमेडी फिल्मले राम्रो दर्शकको साथ पाई रहेको बेला अधिकारीले नेपाली हरर कमेडी फिल्म  ‘फिरफिरे फिरिरी’ को निर्माण गरेका हुन्। आगामी कार्तिक २२ गते छठ पर्वको दिनबाट प्रदर्शनमा आउने फिल्मले हेरुञ्जेल दर्शकलाई पूर्ण मनोरंजन दिनेमा निर्माता अधिकारी बिस्वस्त छन् ।

गत साता फिल्मको शिर्ष गीत सार्वजनिक गरिएको थियो। सार्वजनिक गीतले यु ट्युबमा दर्शकको राम्रै प्रतिक्रिया पाई रहेको छ। ‘फिरफिरे फिरिरी’ मा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ । यसै फिल्मबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। फिल्मको सार्वजनिक पोस्टर अनन्त घिमिरेले डिजाइन गरेका हुन्।

फिल्ममा मनोज कुमार अधिकारी,सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी,पुष्प अवस्थी,सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा जितु तामाङको छायांकन,रोशन दास,प्रकाश दाहाल र अग्नि सुबेदीको सहायक निर्देशन,केशव राज भट्टको कोरियोग्राफी,एलिस कार्कीको ब्याकराउण्ड म्युजिक,प्रशान्त सिवाकोटीको संगीत,अमित श्रेष्ठको साउण्ड डिजाइन,अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ। फिल्मलाई देशभर आर.आर फिल्म्सले वितरण गर्नेछ। फिल्मको डिजिटल अधिकार म्युजिक नेपालले लिएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech