फिल्मी फण्डा । भ्रष्टाचारलाई मुख्य विषयवस्तु बनाएर निर्माण भएको फिल्म ‘छक्कापञ्जा ५’ हेरेपछि बुधबार बेलुका संचारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका नेता भीम रावलले सत्तारुढ एमालेको विवादित व्यवसायीलाई पार्टी कार्यालय निर्माणको जिम्मा दिने कार्यलाई फिल्मले कटाक्ष गरेको बताए ।
देशको प्रधानमन्त्री भएको पार्टीले विवादास्पद गतिविधि र मुद्दामामिलामा मुछिएको व्यक्तिलाई लिएर पार्टी कार्यालय बनाउने भन्ने कुराले सकारात्मक सन्देश नगएको रावलले बताए । ‘एमालेको यो कुरालाई फिल्मले कटाक्ष गरेको छ’ उनले भने ।
उनले फिल्म ‘छक्कापञ्जा ५’ले उठाएको विषय वर्तमान राजनीतिक, कर्मचारीतन्त्रको प्रवृत्तिसँग सान्दर्भिक रहेको बताए । उनले नेपालीले एकपटक फिल्म हेर्नुपर्ने समेत बताए । कथावस्तु र अभिनयले आफूलाई मन छोएको बताउँदै नेता रावलले पछिल्लो समय नेपाली फिल्मले गरेको विकासप्रति उनले खुसी व्यक्त गरे ।
दशैं अष्टमीको दिन (२५ असोज)मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पत्नी राधिका शाक्य तथा व्यापारी दम्पत्ति मीन गुरुङ र सावित्री गुरुङले हिन्दू बिधि बमोजिम केन्द्रीय कार्यालय भवन शिलान्यास गरेका थिए ।
भाटभटेनी संचालक गुरुङले कीर्तिपुर नगरपालिका २ मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गासहित अत्याधुनिक भवनको एमाले केन्द्रीय मूख्यालय भवन निर्माण गरिदिने बचन दिएका छन् । यो कुरालाई लिएर अहिले तीव्र विरोध भैरहेको छ ।