एक हप्तामा ‘पूर्ण बहादुरको सारङ्गी’को ८ करोड २५ लाख ग्रस कलेक्सन, ३८० भन्दा बढी शो

फिल्मी फण्डा । कात्तिक १५ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले प्रदर्शनको पहिलो सातामै ८ करोड २५ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ। निर्माण कम्पनी सेभेन सिस सिनेमाका अनुसार, फिल्मले पाँच दिनमै लगानी सुरक्षित गरी नाफामा प्रवेश गरिसकेको छ। १ करोड ३० लाख रुपैयाँमा निर्माण भएको यस फिल्मले यो उल्लेखनीय सफलता हासिल गरेको हो।


नेपालभरका हलहरूमा ५० प्रतिशतभन्दा बढी शो पाउँदै हाउसफुल दर्शक तानिरहेको ‘पूर्ण बहादुरको सारङ्गी’ले बिहीबार ८९ हलमा ३८० भन्दा बढी शो पाएसँगै नयाँ रेकर्ड राखेको छ।

नेपाली बक्स अफिसमा राम्रो सफलता पाएको यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा पनि उच्च माग पाएको निर्माणपक्षले जनाएको छ। हाल फिल्मको बुकिङ अमेरिका, बेलायत, यूएई, अष्ट्रेलिया लगायतका देशहरूमा खुला भइसकेको छ भने नोभेम्बर ८ तारिखदेखि अमेरिकामा र यूकेका विभिन्न शहरहरूमा प्रदर्शन हुने तयारी छ।

सरोज पौडेलद्वारा निर्देशित यस फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतका कलाकारहरूको अभिनय रहेको छ। गन्धर्व समुदायको संघर्षपूर्ण जीवन र बुवाको सपना पूरा गर्न गरिएको बलिदानको कथामा आधारित यो चलचित्रले नेपाली दर्शक र समिक्षकबाट निकै सकारात्मक प्रतिक्रिया पाएको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech