फिल्मी फण्डा । नेपालको स्थापित म्यूजिक ब्यान्ड ‘कन्दरा’ र गायक स्वप्न सुमनले बढ्दो चिसोमा लन्डन ओटुको माहोल तताउने भएका छन् ।
म्यूजिक ब्यान्ड ‘कन्दरा’ ले आफ्नो यात्राको ३२ औं वर्षगांठ विश्व प्रतिष्ठित कन्सर्ट भेन्यू लन्डन ओटुमा उत्सवका रुपमा आउँदो ४ जनवरी शनिबार लन्डनस्थित इन्डिगो दि ओटु एरिनामा भव्य कार्यक्रम गर्दा ‘नढाक न मुहार शृंगारले’ का गायक स्वप्न सुमनले पनि आफ्ना चर्चित गीतहरु गाउनेछन् ।
त्यस्तै लन्डनस्थित इन्डिगो दि ओटु एरिनामा कोल्याब ब्यान्डको समेत आकर्षक प्रस्तुति रहने आयोजक मामाघर इन्टरटेनमेन्टले जनाएको छ ।
आफ्नो कालजयी गीत संगीत र अहिले मातृभूमि नेपालको आन्तरिक पर्यटनको सम्वाहक बनि पहिला घरदेश अनि परदेशको नारासहित विश्व भ्रमणमा निस्केको कन्दराका तिमी पारी, चन्चले कान्छी, लेककी हे माया, हङकङ पोखरा, तगारोमा रुमाल जस्ता अनेकौं गीत उक्त कार्यक्रममा प्रस्तुत हुनेछन् ।
कन्दराले आत्मसात गरेको लोक पप धुनहरु आजपर्यान्त लाखौं शुभचिन्तक र दर्शक रोजाइमा छन् । आयोजकले नेपाली संगीत धरोहरको रुपमा रहेको कन्दरा ब्यान्डको यस ऐतिहासिक साँझको हिस्सा बनि नेपाली गीत(संगीत प्रवर्धनमा सरिक बन्न अनुरोध गरेको छ ।
जसका लागि अनलाइन मार्फत पनि कार्यक्रमको टिकट उपलब्ध हुने आयोजकले जनाएको छ । कन्दराको सांगीतिक यात्राको ३२औं वार्षिकोत्सव मनाउँदै संगै इतिहास रच्ने यो सांगीतिक माहोलमा सहभागी हुन आयोकजले सबैमा अपिल गरेको छ ।
फिल्मी फण्डा
२०८१ कार्तिक २७,मंगलवार ०४ : ४७ PM