फिल्मी फण्डा । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अग्निदहन’लाई लिएर दर्शकमाझ प्रतीक्षा छ । निर्माताले सोमबार पत्रकार सम्मेलन गर्दै फिल्म हेर्नुपर्नाको कारण र निर्माण अनुभव बाँडेका छन् ।
साहित्यकार लोकमणि पौडेलको सोही नामको उपन्यासमा आधारित रहेर बनेको फिल्मले बोक्सीको नाममा महिलामाथि हुने हिंसाको कथा भन्छ । प्रस्तुतकर्ता कोविदशरण उपाध्यायले बोक्सी कुप्रथा उन्मूलन गराउन आफूहरुले फिल्म बनाएको बताए ।
‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन हामीले फिल्म बनाएका हौं । बोक्सीका नाममा अझै पनि महिलामाथि अत्याचार भइरहेका घटना बेलाबेलामा सार्वजनिक भइरहन्छन् । हामी फिल्ममार्फत बोक्सी हुँदैन र महिलालाई बोक्सीका नाममा अत्याचार गरिनुहुन्न भन्ने सन्देश दिन चाहन्छौं’, उनले भने ।
अभिनेत्री प्रमिला तुलाचनले आफूले ‘बोक्सी’को आरोप लागेकी माइली दमिनीको चरित्र निर्वाह गरेको जानकारी दिंदै त्यो चरित्र अध्ययन गर्न सुकुम्बासी बस्ती पुगेको बताइन् । ‘मैले निर्वाह गरेको चरित्र चुनौतीपूर्ण थियो । समाजको दुःखी, गरिब महिलाप्रति गरिने व्यवहार, एकल महिलालाई गरिने दुर्व्यवहार, असहाय महिलालाई लगाइने लाञ्छनाजस्ता दृश्य देखेर यही चरित्रलाई पर्दामा उतार्ने प्रयास गरेकी छु’, उनले भनिन् ।