सेभेन सिजले निर्माण र वितरण गर्ने चलचित्रलाई चलचित्र संघले प्रदर्शन नगर्ने

फिल्मी फण्डा । प्रदर्शकको छाता संस्था नेपाल चलचित्र संघले चलचित्र निर्माण कम्पनी सेभेन सिज सिनेमाले अबदेखि निर्माण तथा वितरण गर्ने कुनै पनि चलचित्र प्रदर्शन नगर्ने घोषणा गरेको छ ।

संघले सोमबार विज्ञप्ति जारी गर्दै संघसमक्ष धारणा स्पस्ट पार्नुपर्ने सर्त राखेको छ । धारणा स्पष्ट नपारेसम्म उक्त कम्पनीले वितरण र निर्माण गर्ने कुनैपनि फिल्मलाई आफ्ना सदस्यले प्रदर्शन नगर्ने उल्लेख छ ।


चलचित्र घरमा चलचित्र प्रदर्शन गर्ने वा नगर्ने सम्पूर्ण अधिकार वितरकमा निहित रहने स्पष्ट पार्दै संघले सेभेन सिजले विज्ञप्तिमार्फत संघका सदस्यहरूको विज्ञप्तिमार्फत पटक पटक मानमर्दन गर्ने कार्य गरेको भन्दै खेद समेत ब्यक्त गरेको छ । मानमर्दन गर्ने कार्य संघलाई सह्य नहुने समेत विज्ञप्तिमा उल्लेख छ ।

चलचित्र संघको यो निर्णय ‘पूर्णबहादुरको सारंगी’को हकमा लागू नहुने बताइएको छ । ‘अबदेखि सेभेन सिजले बनाउने र वितरण गर्ने फिल्मको हकमा निर्णय लागू हुन्छ’ एक पदाधिकारीले भने ।

गत शनिबार सेभेन सिज सिनेमाले एकपक्षीयरुपमा हलमा चल्दै गरेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ प्रदर्शन उतार्ने निर्णय गरेको थियो । वितरकले सेभेन सिजको उक्त निर्णयको प्रतिवाद गर्दै फिल्मको प्रदर्शन निरन्तर हुने निर्णय गरेअनुसार अहिले फिल्म चलिरहेको छ ।सेभेन सिज सिनेमाले सोमबार पनि विज्ञप्ति जारी गर्दै मंसिर २२ गतेको सूचनालाई सच्याएको बताएको छ ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech