सिद्धार्थ मल्होत्रा र जाहान्वी कपुरको मुख्य भूमिका रहेको ‘परम सुन्दरी’ २०२५ मा रिलिज हुने

फिल्मी फण्डा । बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री जाहान्वी कपुरको मुख्य भूमिका रहेको नयाँ सिनेमा ‘परम सुन्दरी’को निर्माण घोषणा गरिएको छ। बलिउडको चर्चित निर्माण कम्पनी म्याडक फिल्मस्ले मंगलबार मोसन पोस्टर सार्वजनिक गर्दै सिनेमाको घोषणा गरेको हो।

सिनेमामा सिद्धार्थ र जाहान्वी पहिलो पटक स्क्रिन सेयर गर्न लागेका छन्। तुषार जलोटाको निर्देशनमा निर्माण हुने यो सिनेमा २०२५ को जुलाई २५ मा विश्वभर प्रदर्शनमा आउनेछ। तुषारले यसअघि ‘दसवी’ नामक सिनेमा निर्देशन गरेका थिए, जसले दर्शक र समीक्षकबाट राम्रो प्रशंसा पाएको थियो।

‘परम सुन्दरी’ उत्तर भारतको एक युवक र दक्षिण भारतकी एक युवतीबीचको प्रेमकथामा आधारित हुनेछ। सिनेमाको कथा आर्श बोरा र गौरव मिश्राले लेखेका हुन्। सचिन-जिगरले संगीत दिएको सिनेमाका गीतहरू अमित भट्टाचार्यले लेख्नेछन्।

दिनेश विजान यो सिनेमाका निर्माता हुन् भने सह-निर्मातामा शारदा कार्की जलोटा र पुनम शिवदासानी छन्। सिनेमाको छायांकन सन्तान कृष्णनले गर्नेछन्।

निर्माण घोषणासँगै बलिउडका दर्शकमाझ सिनेमाको प्रतीक्षा झनै बढेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech