काठमाडौं । गत वर्ष प्रदर्शनमा आएको चर्चित नेपाली फिल्म ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु भएको छ। निर्देशक नवीन चौहानले सिक्किमको युमथाङ उपत्यकाबाट फिल्मको छायांकन शुभारम्भ गरेका हुन्।
निर्देशक चौहानका अनुसार स्थानीय लामा गुरुहरूले मन्त्र उच्चारणसहित शुभ मुहूर्त गरेपछि छायांकन सुरु गरिएको हो। सोमबार छायांकनको पहिलो दिन अभिनेता पीयूष मिश्रा र एलेक्स पारसका दृश्य खिचिएको उनले जानकारी दिएका छन्।
छायांकनको शुभारम्भमा सिक्किम फिल्म बोर्डका अध्यक्ष टासी छिरिङ भुटिया, कल्चरल बोर्डका अध्यक्ष सञ्जय दिल्पाली राई, एडीसी, भारतीय सेनाका प्रतिनिधि तथा स्थानीय लामा गुरुहरूको उपस्थिति थियो। निर्देशक चौहानले शुभारम्भका क्रममा प्राप्त साथ र आशीर्वादप्रति आभार व्यक्त गरेका छन्।
चौहानका अनुसार ‘ऊनको स्वीटर’ले दर्शकमाझ स्थापित गरेको कथा, पात्र र भावनात्मक संसारलाई अझ विस्तार गर्ने उद्देश्यले ‘कलेजी’ निर्माण गर्न लागिएको हो। नयाँ फिल्ममा काफ्ले, फूल, डम्बर र ईक्क्षाका कथालाई निरन्तरता दिँदै प्रेम, जीवन र मानवीय संवेदनाका थप आयाम प्रस्तुत गरिनेछ।
“केही कथा बाँकी छन्, केही अनुभूति अझै भन्न बाँकी छन्,” निर्देशक चौहानले भनेका छन्।
नेपाल, दार्जिलिङ, सिक्किम र दिल्लीमा छायांकन गर्ने योजनासहित अघि बढेको फिल्मले ‘ऊनको स्वीटर’सँग जोडिएका कथा र पात्रलाई नयाँ परिवेशमा विस्तार गर्नेछ।
आर्टमाण्डुको निर्माणमा बन्ने फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गर्दैछन्। अभिषेक सुवेदी सहलेखक तथा प्रमुख सहायक निर्देशक छन् भने छायांकनको जिम्मेवारी चिन्तन राजभण्डारीले सम्हालेका छन्। फिल्ममा कोविद बज्रको संगीत रहनेछ।
फिल्ममा विपिन कार्की, मिरुना मगर, पीयूष मिश्रा, एलेक्स पारस, परीक्षा लिम्बू, टेरिया मगर, सुरज तमु, शारदा देवी सिलवाल, भुवन सिंह राई र रुश्मा राईलगायत कलाकारको अभिनय रहनेछ।
‘कलेजी–ऊनको स्वीटर’को प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन।