फिल्मी फण्डा । दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’ आगामी १ चैत (१४ मार्च)देखि नेपालका हलमा प्रदर्शनमा आउँदैछ। निर्माताहरूले बिहीबार नेपाल संस्करणको थिएट्रिकल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका छन्।
पोस्टरमा चार प्रमुख कलाकार—आशा मगराती, दयाहाङ राई, निकिता चाण्डक, र विजय बराललाई चित्रण गरिएको छ। सबै कलाकार आफ्नो क्यारेक्टर लुक्समा प्रस्तुत छन्। फिल्ममा सांसदको छोरासहित दुई बालकको अपहरणपछि प्रहरीले चलाएको खोजी अभियानको कथा देखाइएको छ। यो सामाजिक ड्रामा र एक्सन फिल्ममा आशा मगराती शीर्ष भूमिकामा छिन्।
‘राजागञ्ज’ले भेनिसमा विश्व प्रिमियर गरिसकेको छ। यसअघि फिल्म बुसान र मुम्बईजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलहरूमा प्रदर्शन भइसकेको छ। यसमा ऋचा शर्मा, गौमाया गुरुङ, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वरकुमार झा, पशुपति राई, र नीरज श्रेष्ठको पनि अभिनय छ।
यो निर्देशक दीपक रौनियारको तेस्रो कथानक फिल्म हो। उनकी पहिलो फिल्म ‘हाइवे’ सन् २०१२ मा बर्लिन फेस्टिभलमा प्रिमियर भएको थियो। सन् २०१६ मा फिल्म ‘ह्वाइट सन्’ भेनिस, पाम स्प्रिङ्स, फ्राइबर्ग, र सिंगापुर फेस्टिभलमा पुरस्कृत भएको थियो।
फिल्मको निर्माणमा आदि फिल्म्सका लागि दीपक रौनियार र आशा मगराती, बाँसुरी फिल्म्सका लागि रामबाबु गुरुङ, र तन्हाउसर गेटका लागि एलन आर. मिलिगनले सहकार्य गरेका छन्। यसलाई नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डले आर्थिक सहयोग गरेको छ।
कार्यकारी निर्माताको रूपमा भारतीय निर्देशक अनुराग कश्यप पनि जोडिएका छन्। कश्यपले भनेका छन्, “यो फिल्म केवल एक मार्मिक र सान्दर्भिक विधाको कथा नभई, यसले भारतीय उपमहाद्वीपका दर्शकहरूको आवाज पनि बोल्छ।”
अन्तर्राष्ट्रिय मिडियाले ‘राजागञ्ज’लाई नेपाल चिनाउन मद्दत गर्ने महत्वपूर्ण फिल्मको रूपमा विश्लेषण गरेको छ। नेपाली दर्शक यस फिल्मलाई हेर्न निकै उत्साहित देखिन्छन्।