‘चिरञ्जीवी भवः’को स्वरकन सुरु, हरिवंशले गराए पहिलो डबिङ

काठमाडौं । ब्लकबस्टर फिल्म ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा निर्माण भएको फिल्म ‘चिरञ्जीवी भवः’को स्वरकन (डबिङ) सुरु भएको छ । निर्माणपक्षले बिहीबारदेखि फिल्मको पोस्ट प्रोडक्सनअन्तर्गत स्वरकनको काम सुरु गरिएको जानकारी दिएको हो ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्ममा अभिनेता हरिवंश आचार्यले आफ्नो भागको संवाद रेकर्ड गराउँदै स्वरकनको सुरुवात गरेका छन् । छायांकन सम्पन्न भएसँगै निर्माण टोलीले पोस्ट प्रोडक्सनको काम अघि बढाएको हो ।

निर्देशक दीपकप्रसाद आचार्यले फिल्म निर्माणका क्रममा गुणस्तरमा कुनै सम्झौता नगरिएको र पोस्ट प्रोडक्सनमा पनि उत्तिकै मेहनत गरिने बताएका छन् ।

‘हामीले पोस्टको काम सुरु गरेसँगै स्वरकन गर्न थालेका छौँ,’ निर्देशक आचार्यले भने, ‘हामीले कुनै पनि सम्झौता गरेका छैनौँ । अब पोस्ट प्रोडक्सनको काम पनि मेहनत गरेर गर्नेछौँ ।’

निर्देशक आचार्यका लागि ‘चिरञ्जीवी भवः’ विशेष फिल्मका रूपमा हेरिएको छ । गत वर्ष प्रदर्शनमा आएको उनको निर्देशकीय फिल्म ‘परान’ व्यावसायिक रूपमा सफल भएको थियो । उक्त फिल्मले दर्शकको उल्लेखनीय साथ पाउँदै नेपाली फिल्म क्षेत्रमा राम्रो व्यापार गरेको थियो ।

‘परान’को सफलतापछि आचार्यले निर्देशन गरेको ‘चिरञ्जीवी भवः’प्रति पनि दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ । पहिलो फिल्मबाट स्थापित भएको निर्देशकीय छविलाई उनले दोस्रो फिल्ममा कसरी अघि बढाउँछन् भन्ने चासो बढेको छ ।

सामाजिक विषयवस्तुमा आधारित ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धलाई मुख्य कथावस्तु बनाएको छ । बदलिँदो सोच, पुस्तान्तरण र पारिवारिक सम्बन्धका आयामलाई फिल्मले कसरी प्रस्तुत गर्छ भन्ने कुरा प्रदर्शनपछि थाहा हुनेछ ।

फिल्ममा हरिवंश आचार्यसँगै अभिनेत्री करिस्मा मानन्धर, अभिनेता आशीर्वाद क्षेत्री तथा मोडल एवं इन्फ्लुएन्सर प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । प्रशंसाले यसै फिल्ममार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दै छिन् ।

आशीर्वाद र प्रशंसालाई जोडीका रूपमा प्रस्तुत गरिने हो वा होइन भन्ने विषयमा निर्माण टोलीले अहिलेसम्म खुलाएको छैन । उनीहरूबीचको सम्बन्ध र भूमिकालाई लिएर निर्माणपक्ष मौन रहँदा फिल्मको यो पक्ष रहस्यमै छ ।

फिल्ममा कमलमणि नेपाल, हरिश निरौला, सुमन कार्की, मिश्री थापा, सरोज अर्याल, दीपकप्रसाद आचार्य, सुवर्ण थापा, गीता अधिकारी, अभयराज बराल, सुस्मिता कुँवर, उमेश बराल, रिस्ता बस्नेत, रुक्मिला अधिकारी, काजल कर्ण र सुरेश थापालगायत कलाकारको पनि अभिनय रहेको छ ।

बाल कलाकारका रूपमा यशदीप आचार्य, उस्ना बराल, दिल्लीराम आचार्य र विभूति गौतम छन् ।

फिल्ममा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि निर्देशक आचार्यसँगै जोडिएका छन् । कुमार कट्टेलको कथा रहेको फिल्मको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन् ।

उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको फिल्मका कार्यकारी निर्माता गजित विष्ट र शैलेश खत्री हुन् ।

फिल्मका गीतमा निर्देशक दीपकप्रसाद आचार्यसँगै रञ्जित गजमेर र हर्क साउदको योगदान रहने निर्माणपक्षले जनाएको छ ।

शिवराम श्रेष्ठले छायांकन गरेको फिल्ममा गोपाल रायमाझी सिनेम्याटोग्राफर तथा ग्याफर र मित्र डी. गुरुङ सम्पादक छन् । फिल्ममा बाबुल गिरी, सुशान्त गौतम, रिकेश गुरुङ र समीर खरेलले संगीत तयार पारेका छन् । नृत्य निर्देशन गम्भीर विष्ट र किरण थापाले गरेका छन् ।

रामबाबु खड्का प्रमुख सहायक निर्देशक रहेको फिल्ममा सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल सहायक निर्देशकका रूपमा छन् ।

फिल्मका प्रोजेक्ट म्यानेजर सुवास राज काफ्ले हुन् भने प्रोडक्सन डिजाइन विशाल न्यौपानेले गरेका छन् । समीर मियाँ र सत्यम राणा भिजुअल इफेक्ट्स (भीएफएक्स), रेनिश फागो कलर ग्रेडिङ, विक्रम गौतम र मन्दिरा सापकोटा मेकअप तथा सञ्जिता ढकाल हेयर स्टाइलिस्टका रूपमा जोडिएका छन् ।

सन्तोष क्षेत्रीले स्टिल तथा बीटीएस, सुजन श्रेष्ठ र आशिष पौडेलले ध्वनि, आशिष पौडेलले पोसाक डिजाइन तथा दीपक राई र सीताराम खतीवडाले ड्रेस स्टाइलिङको जिम्मेवारी सम्हालेका छन् । प्रोडक्सनमा विष्णुप्रसाद मैनाली र अनिश लामिछाने छन् ।

रोहित शाक्य र शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर रहेको फिल्मको पब्लिसिटी डिजाइन टाउवा स्टुडियोका विजय बस्यालले गरेका छन् ।

‘चिरञ्जीवी भवः’को छायांकन धनकुटा, सुनसरी र काठमाडौंका विभिन्न स्थानमा गरिएको हो । फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

‘चिरञ्जीवी भवः’ आगामी २०८३ माघ १ गते अर्थात् १५ जनवरी २०२७ देखि देशभरका हलमा प्रदर्शनमा आउने तय भएको छ । फिल्मको देशव्यापी वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले गर्नेछ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech